Radio Unity 92.2MHz

डडेल्धुराका सरकारी कार्यालयहरू धमाधम बन्द, जिप्रकाले बारअनुसार सेवा दिने

डडेल्धुरा: डडेल्धुराका सरकारी कार्यालयहरू धमाधम बन्द भइरहेका छन् । जिल्ला स्थित कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिन थालेपछि बन्द भइरहेका हुन् ।

सोमबारदेखि जिल्ला अदालत डडेल्धुराले सेवा संकुचन पार्ने भएको छ । अदालतमा कार्यरत जना कर्मचारीमा कोभिड संक्रमण पुष्टि भएको भन्दै अदालतले सेवा संकुचन पारेको हो। आइतबार एक सूचना प्रकाशित गर्दै अदालते सोमबारदेखि अर्को सूचना प्रकाशन नभएसम्मका लागि सेवा संकुचन पार्ने जनाएको छ ।

यस्तै, जिल्ला स्थित कृषि ज्ञान केन्द्र, आन्तरिक राजश्व कार्यालय, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय र डिभिजन वन कार्यालयका कर्मचारीमा कोरोना देखिएपछि यसअघि नै सेवा बन्द गरिएको छ ।

जिल्ला स्थित भागेश्वर गाउँपालिकाका र अजयमेरू गाउँपालिकामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएको अति आवश्यकबाहेकका सेवाहरू बन्द गरेको छ ।

यता, जिल्ला प्रशासन कार्यालय डडेल्धुराले कोभिड संक्रमित कर्मचारी स्वस्थ भएर काममा फर्किएको भन्दै बारअनुसार सेवा दिने भएको छ ।

माघ १८ गतेदेखि नागरिकता, नागरिकता प्रतिलिपि, संघ र संस्था, नाबालक परिचयपत्र, राष्ट्रिय परिचयपत्र र राहदानी फाँटतर्फका सम्पूर्ण सेवाहरू बारअनुसार दिइने प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए ।

उनका अनुसार आइतबार अमरगढी नगरपालिका, सोमबार नवदुर्गा गाउँपालिका, मंगलबार अजयमेरु गाउँपालिका, बुधबार भागेश्वर गाउँपालिका, बिहीबार गन्यापधुरा गाउँपालिका र शुक्रबार आलिताल गाउँपालिका–१ र २ का नागरिकलाई सेवा दिइनेछ ।

सेवा दिन आउने नागरिकले कोरोनाविरुद्ध लगाएको खोप कार्ड अनिवार्य देखाउनुपर्ने प्रजिअ जोशीको भनाइ छ । स्वास्थ्य सुरक्षाका मपदडण्ड पनि पालना गर्नुपर्ने प्रशासनले जनाएको छ ।

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।