दिपेन्द्र नाथ\डडेल्धुरा: डडेल्धुराको भागेश्वर गाउँपालिका–५ स्थित रूपालिगाडका नागरिक सञ्चार सेवाबाट बञ्चित भएका छन्। नेपाल टेलिकमको नेटवर्क नहुँदा सो क्षेत्रका नागरिकले सञ्चार सेवाबाट बञ्चित हुनु परेको हो ।
भागेश्वर गाउँपालिका–१ स्थित रूपालमा र बगरकोटमा राखिएको टेलीकमको टावरले रूपालिगाडमा काम नगर्दा आफूहरू सञ्चार सेवाबाट बञ्चित हुनुपरेको स्थानीय रमेश नाथले बताए। उनले करिब ८५ घर परिवार सञ्चार सेवाबाट बञ्चित रहेको बताए।
घाम लागेको दिन नेटवर्क टिप्ने भएपनि बादल वा पानी परेको दिन नेटवर्क नटिप्ने स्थानीय बताउँछन्। आपतकालिन अवस्थामा फोन गर्नका लागि अग्लो पहाडमा जानुपर्ने ओमप्रकाश नाथले बताए।
कोरोनाको माहामारीमा शहर बजारबाट घर फर्किएका विद्यार्थीहरूसमेत अनलाइन कक्षा पढ्नबाट बञ्चित छन् । टावरका लागि स्थानीय तह र सम्बन्धीत निकायलाई जानकारी गराउँदासमेत चासो नदेखाएको उनीहरूको आरोप छ।
रूपालिगाडका नागरिकलाई सञ्चारको पहुँचमा पु¥याउने उदेश्यले एकवर्ष अगाडि नयाँ टावर स्थापनाका लागि नेपाल टेलिकमको टोली गएर निरीक्षणसमेत गरेको थियो।
यता दूरसञ्चार कार्यालय डडेल्धुराका प्रमुख माधव जोशीले भागेश्वर गाउँपालिका–५ दत्तेखालीमा नयाँ टावर राख्ने तयारी भइरहेको जानकारी दिए। नयाँ टावरका लागि नेपाल टेलिकम प्रादेशिक निर्देशनालय अत्तरियालाई सवै विवरण दिइसकेको उनले बताए।
उनले स्थानीय बासिन्दालाई नयाँ टावर स्थापनाका लागि स्थानीय निकाय वडाबाट सिफरिस पत्र र निवेदन दूर सञ्चार कार्यलय डडेल्धुरामा बुझाउन आग्रह गरे।