Radio Unity 92.2MHz

डडेल्धुरामा पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै प्रदर्शन

डडेल्धुराः पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै डडेल्धुरामा युवाहरू प्रदर्शन गरेका छन्। स्वतन्त्र एकता समाज डडेल्धुरा र अखिल क्रान्तिकारीले मोटरसाइकल र्‍याली निकाल्दै प्रदर्शन गरेको हो।

कोरोनाका कारण दैनिक गतिविधि ठप्प हुँदा जनतालाई दैनिकी चलाउन समस्या भइरहेको अवस्थामा मूल्यवृद्धि गर्नु उचित नभएको भन्दै युवाहरू प्रदर्शन गरेका हुन्।

सरकारले गरेको मूल्यवृद्धि फिर्ता गर्न माग राख्दै बुधबार स्वतन्त्र एकता समाज डडेल्धुरा र अखिल क्रान्तिकारी सडकमा उत्रिएको हो।

कोरोनाका कारण दैनिक रोजगारी गरेर खाने आम जनताको अवस्था भयावह हुँदै गएको अवस्थामा सरकारले महँगी बढाएर जनताको ढाड भाँच्न थालेपछि यसको विरुद्धमा सडकमा उत्रिनुपरेको अखिल क्रान्तिकारीका जिल्ला उपाध्यक्ष तारादत्त भट्टले बताए।

जिल्ला सदरमुकाममा भएको प्रदर्शनमा सहभागीले मूल्यवृद्धि फिर्ता, जनता मार्न पाइँदैन, भ्रष्टाचारी सरकार राजीनामा दे, हामी धेरै जान्दैनौँ, मूल्यवृद्धि मान्दैनौँ, सरकार तेरो पाराले दुःख पाए साराले जस्ता नारा लगाएका थिए।

सम्बन्धित पाेष्टहरु
Loading...