Radio Unity 92.2MHz

सुदूरपश्चिममा फेरि हिमपात, ७ पहाडी जिल्लाको राजमार्ग बन्द

डडेल्धुरा: सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्लामा हिमपातले गर्दा जनजीवन कष्टकर बनेको छ । बिहीबार अपरान्हदेखि परेको हिउँ राति रोकिएको थिए । फेरि शुक्रबार बिहानैदेखि हिउँ पर्न थालेपछि जनजीवन कष्टकर हुनुका साथै भिमदत्त र जयपृथ्वी राजमार्ग अवरुद्ध भएका छन् ।

राजमार्गमा डेढ फिटसम्म हिउँ जमेको छ । सुदूरपश्चिममा तेस्रोपटक हिमपात भएको हो । यसअघि माघ दोस्रो हप्ता र गत पुसमा पनि हिमपात भएको थियो । बैतडी, डडेल्धुरा,बाजुरा, अछाम, दार्चुला डोटी र बझाङ जिल्लामा हिमपात भएको हो । डोटीको गैरा, डडेल्धुराको भीमदत्त राजमार्ग क्षेत्रमा गाडी रोकिएका छन् ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक (डिएसपी) देवेन्द्र पालका अनुसार बिहीबार राति अवरुद्ध भएको सडक खुलाएर पास गरेको हो। पुनः शुक्रबार बिहानदेखि गाडी सडकमा रोकिएका छन्। फेरि आज बिहानदेखि हिउँ परेको हुँदा सवारीसाधन डोटीको गैरा, डडेल्धुरको साहुखर्कलगायतका क्षेत्रमा रोकिएका डिएसपी पालले बताए।

हिमपातले महाकाली राजमार्ग र अनारखोली, खोड्पे क्षेत्रको हिमपातले दशरथचन्द राजमार्ग अवरुद्ध रहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । अहिले पनि सुदूरपश्चिमका पहाडी जिल्लामा हिउँ परिरहेको छ ।

हिमपातले यहाँका धेरै स्थानमा विद्युत सेवा समेत अवरुद्ध भएको छ। डडेल्धुराको सदरमुकामबाहेक सात वटै स्थानीय तहमा विद्युत् लाइनमा समस्या आएपछि अवरुद्ध रहेको नेपाल विद्युत प्राविधीकरण वितरण केन्द्र डडेल्धुराका प्रमुख राम दिनेश यादवले बताए।

सम्बन्धित पाेष्टहरु
Loading...