डडेल्धुराः बिहीबार दिउँसोदेखि परेको हिमपातले अबरुद्ध भीमदत्त राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन्। राजमार्गमा बाक्लो हिउँ जमेकोले राजमार्ग अबरुद्ध बनेको हो।
सात पहाडी जिल्ला जोड्ने एक मात्र भीमदत्त राजमार्ग अबरुद्ध सयौं यात्रु बीचबाटोमा अलपत्र परेका छन्। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले हिउँ पन्छ्याएर राजमार्ग सञ्चालनमा खटिरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी तथा प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले बताए।
‘डोजर प्रयोग गरेर राजमार्ग सफा गरिरहेका छौं। एकतर्फी रूपमा खुलिसकेको छ। अति आवश्यक सवारी साधनलाई गन्त्वयमा पठाइरहेका छौं। अझैं पूर्ण रूपमा सञ्चालन आउन डेढ, दुई घण्टा लाग्छ,’ चन्दले भने।
जिल्लाको उच्च लेकाली भाग भालुमारे, साहुखर्क, हगुल्टेलेक, महाभारत लेकका विभिन्न स्थानमा बाक्लो हिमपात परेको छ। लामो समयपछि डडेल्धुरामा माघ महिनामा हिमपात भएको हो। बाक्लो परेको हिमपातमा यहाँका स्थानीयवासी रमाउन थालेका छन्।
हिउँसँग खेल्नेको भीडले हिउँ परेका क्षेत्र भरिभराउ देखिन्छन्। हिमपातसँगै सेताम्मे भएका डाँडापाखामा हिउँसँग रमाउने युवायुवतीहरुको ताँती छ।
हिमपातले जनजीवन कष्टकर भएपनि कृषक भने हर्षित छन्। हिउँका कारण खेतीपाती राम्रो हुने भन्दै कृषक हर्षित बनेका हुन्।