डडेल्धुराः प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको समाजवादलाई आदर्श बनाएको पार्टी नेपाली काँग्रेस (विपी)डडेल्धुराको संयोजकको जिम्मेवारी तिलक हमालले पाएका छन्।
बुधबार जिल्ला सदरमुकाम डडेल्धुरामा भएको एक कार्यक्रममा हमाललाई संयोजकको जिम्मेवारी दिइएको हो।
नेपाली काँग्रेस विपीका केन्द्रीय उपसभापति बिष्णुप्रसाद ढकालले हमाललाई संयोजकको जिम्मेवारी दिएका हुन्।
जिल्लामा छिट्टै कार्य समिती विस्तार गर्ने हमालको भनाइ छ। प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला रहेको डडेल्धुरामा पछिल्लो समय काँग्रेस भित्र विवाद देखिदै आएको छ।
गुट–उपगुटमा विभाजन भएको डडेल्धुरा काँग्रेस अन्ततः फुटको संघारमा पुगेको हो।
काँग्रेसको १४ औं महाधिवेशनमा समेत देउवाले गृहजिल्लामा एकलौटी रूपमा निर्वाचन गरेको आरोप लाग्दै आएको छ। सोही कारण पूर्व जिल्ला सभापति कर्ण मल्ल पक्षधर अझै पनि रूष्ट छ। हमाल नेपाली काँग्रेस डडेल्धुराका पूर्व जिल्ला कार्य समिति सदस्य हुन्।