डडेल्धुराः प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको समाजवादलाई आदर्श बनाएको पार्टी नेपाली काँग्रेस (विपी)डडेल्धुराको संयोजकको जिम्मेवारी पाएका तिलक हमालले नेपाली काँग्रेस ठेकेदारको पार्टी भइसकेकोले काँग्रेस छोडेको बताएका छन्।
बुधबार संयोजकको जिम्मेवारी पाइसके पश्चात बोल्दै उनले नेपाली काँग्रेस गरिबको पार्टी नभएर ठेकेदार र धनीको पार्टी भइसकेको बताएका हुन्।
लामो समयदेखि काँग्रेसको इमान्दार कार्यकर्ता भएर बसेको भएपनि नेपाली काँग्रेसले विपीको समाजवाद विर्सेर अलगबाटो रोजेपछि नेपाली काँग्रेस विपीमा लागेको उनको भनाइ छ। उनले पार्टीको लागि अहोरात्र खटिने समेत बताए।
‘व्यक्तिले पार्टीलाई सञ्चालन गर्न थाले, वीपीको समाजवाद हराउन थाल्यो, मैले त्यो पार्टीमा वीपीको समाजवादको परिकल्पना गर्न सकेन्,’ उनले भने, ‘नेपाली काँग्रेस विपीको बिचार मन पर्यो र यो पार्टीमा समाहित हुन आए।’
विशुद्ध समाज सेवा गर्नेले मात्र राजनीति गर्नुपर्ने र राजनीति पेसा नभएको उनले जिकिर गरे। नेपाली काँग्रेस शेरबहादुर देउवाको खल्तीमा भएको कारण आफूले नेपाली काँग्रेस छोडेको उनको भनाइ छ।
‘काँग्रेसका हामी दुखी कार्यकर्ता हौं, घाँटी रेटीएका कार्यकर्ता हौं, त्यसैले पार्टी छोडेका हौं। काँग्रेसको इमान्दार कार्यकर्ता भएको कारण माओवादीको डरले गाउँ छोड्न बाध्य भयौं,’ उनले भने, ‘हामी जस्ता कार्यकर्तालाई बाहिर पठाएर देउवाले ठेकेदारको पार्टी बनाए।’