डडेल्धुराः डडेल्धुराको अमरगढी नगरपालिका–४ खलंगा घर भइ हाल जापानमा रहेका समाजसेवी प्रकाश मल्ल ‘विनय’ले ५६ जना विद्यार्थीलाई पोशाक सहयोग गरेका छन्।
जिल्लाको अमरगढी नगरपालिका–३ मा स्थित घटाल माध्यामिक विद्यालय नुवाकोटमा सञ्चालित घटाल रोभर रेञ्जर स्काउट कृयुका ३६ जना विद्यार्थीलाई स्काउट पोशाक र विद्यालयमा अध्ययनरत २० जना अनाथ विद्यार्थीलाई पोशाक सहयोग गरेका हुन्।
मंगलबार स्काउट दिवसको अवसरमा समाजसेवी मल्लले सहयोग गरेको पोशाक अमरगढी युवा एकता समाजका सदस्य सुरत तमोलीले विद्यालयलाई हस्तान्तरण गरेका थिए। विनयको सहयोगमा अमरगढीका ११ वटै वडाका ११ विद्यालयमा अक्षयकोष स्थापनाका लागि समेत लागि परेको तमोलीले बताए।
सार्वजनिक विद्यालय, आर्थिक चपेटामा परेका विद्यालयलाई शैक्षिक क्षेत्रमा हौसला प्रदान गर्न विनयको ठूलो योगदान रहेको शिक्षक देवराज पाण्डेयले बताए। घटाल रोभर रेञ्जर स्काउटका ३६ र २० जना अनाथ विद्यार्थीलाई विनयले सहयोग गरेकोमा शिक्षक मोहन भण्डारीले धन्यवाद समेत व्यक्त गरे।
मनकारी समाजसेवी विनयले विद्यालयलाई गरेको सहयोगप्रति विद्यालय परिवार आभारी रहेको विद्यालयका प्रधानाध्यापक गणेशबहादुर साउदले बताए।
विनयले विगत केही समय अघिदेखि डडेल्धुराका सात वटै स्थानीय तहमा रहेका दुःखी, पीडित, गरिब तथा समाजमा पछाडि परेका बर्गहरूलाई सहयोग गर्दै आएका छन्। उनले शिक्षा, स्वास्थ्य र यहाँका मठमन्दिर लगाएतको विकासमा पनि योगदान दिएका छन्।