Radio Unity 92.2MHz

डडेल्धुरामा स्थानीय तह निर्वाचनको तयारी तीव्र

डडेल्धुरा: जिल्ला निर्वाचन कार्यालय डडेल्धुराले आगामी स्थानीय तहको निर्वाचनको आन्तरिक तयारीलाई तीव्रता दिएको छ। सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति तोकेसँगै निर्वाचन कार्यालय तयारीमा जुटेको हो।

मिति घोषणासँगै मतदाता नामावली संकलन स्थगित गरिएको छ। अहिले मतदाता नामावली अध्यावधिक गर्ने काम भइरहेको जिल्ला निर्वाचन अधिकारी करुणाकर अवस्थीले जानकारी दिए। नामावलीउपर दाबी विरोध गर्न आह्वान गरिएको छ। सरकारले तोकेकै मितिमा निर्वाचन गर्नका लागि आन्तरिक तयारी थालिएको अवस्थीले बताए।

मतदाता परिचयपत्र हराएका अवस्थामा नयाँ बनाउने प्रयोजनका लागि वडा कार्यालयको सिफारिससहित यहीँ फागुन २० गतेभित्र जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिन निर्वाचन अधिकारी अवस्थीले सबैमा आग्रह गरेका छन्। यही फागुन १९ मतदाता नामावली प्रकाशित गरिने भएको छ। फागुन १९ गते जिल्लाका सबै वडामा मतदाता नामावली प्रकाशन गरिने र त्यसपछि निर्वाचन कार्यालयलमा सच्याउने, हटाउने काम हुने निर्वाचन अधिकारी अवस्थीले बताए।

मतदाता नामावली प्रकाशन भएपछि मृत्यु भएका, बसाइँसराइ गरेका नामउपर दाबी विरोधको समय फागुन २३ गतेसम्म राखिएको छ । फागुन २३ गतेसम्म दाबी विरोधको फारम निर्वाचन कार्यालयमा बुझाइसक्नु पर्नेछ। यसका साथै निर्वाचन कार्यालयले मतदाता नामावली प्रकाशन गर्न, निर्वाचन केन्द्र र संख्या निर्धारण गर्न, कर्मचारी व्यवस्थापन गर्ने कार्यको समेत तयारी थालेको निर्वाचन अधिकारी अवस्थीले जानकारी दिए।

यसैक्रममा निर्वाचन कार्यालयले जिल्ला सदरमुकाममा सोमबार ‘मतदाता नामावली अध्यावधिकसम्बन्धी सरोकारवालासँगको अन्तरक्रिया सम्पन्न गरेको छ। यो पाँच वर्षको अवधिमा धेरैको मतदाता परिचयपत्र हराइसकेकाले उनीहरूलाई नयाँ परिचयपत्र दिलाउन सबैले भूमिका खेल्नुपर्ने निष्कर्ष निकालिएको छ। निर्वाचनमा विवाद र धाँधली भइरहने भएकोले निर्वाचन कार्यालयले यसमा विशेष ध्यान दिनुपर्ने सरोकारवाला निकायले जोड दिएका थिए।

यसमा सरकारी कर्मचारीसहित राजनीति दल, जिल्लास्थित पत्रकारहरू र अन्य सरोकारवालको भूमिका महत्वपूर्ण हुने प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए। प्रतिनिधिसभातर्क एक मात्र निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा प्रदेशसभातर्फ भने २ वटा क्षेत्र रहेका छन्।

यहाँ ९४ हजार तीन सय १४ जनाले फोटोसहितको मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएका छन्। जसका लागि ८० वटा मतदान स्थल र मतदान केन्द्र एक सय १० रहेको जिल्ला निर्वाचन कार्यालय, डडेल्धुराले जनाएको छ। राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार जिल्लाको कूल जनसंख्या एक लाख ३९ हजार चार सय २० रहेको छ।

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।