Radio Unity 92.2MHz

भूमि आयोग डडेल्धुरालाई दलित भूमि अधिकार यूनियनको ९ बुँदे ज्ञापनपत्र

डडेल्धुरा: गाउँपालिका स्तरीय दलित भूमि अधिकार यूनियन नवदुर्गाले भूमि आयोग डडेल्धुरालाई विभिन्न ९ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको छ ।

सामेबार दलित भूमि अधिकार युनियन नवदुर्गाका अध्यक्ष लोक टमोटाले गाउँपालिका अध्यक्ष कविन्द्र विष्टमार्फत् उक्त ज्ञापनपत्र भूमि आयोगलाई बुझाएका हुन् ।

जिल्ला स्तरमा गठन गरिने जिल्ला भूमि आयोग र स्थानीयस्तरमा गठन गरिने भूमि वितरण सहजीकरणमा दलितहरूको सामानुपातिक सहभागिता सुनिश्चित गरिनुपर्ने, स्थानीयतहरूको माध्यमद्वारा आफ्नो स्थानीय तहमा दलित भूमिहीन र सुकुम्बासीलगायत अझैं पनि दास प्रथाको अवशेषका रूपमा रहेका मुक्त हलियाहरूको अलग पहिचानका साथ लगत संकलन र अद्यावधिकगर्ने काम छिटो सम्पन्न गर्नुपर्ने माग दलित भूमि अधिकार युनियनको छ ।

भूमिहीनहरूलाई राज्यकातर्फबाट वितरण गरिने भूमिका सन्दर्भमा दलित भूमिहीन र कृषि बधुवामजदुर तथा मुक्तहलियाहरुलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने माग आफूहरूको रहेको अध्यक्ष टमोटाको भनाइ छ ।

‘अहिले पनि कृषिमा संग्लन हुन इच्छुक दलित भूमिहीन, सुकुम्बासी र मुक्तहलियाहरूका लागि प्रति घरधुरीहरूको लागि वर्षभरी धान्ने कृषि योग्य जमिन, घर भएका र घर नभएका दुबै भूमिहीन परिवारका लागि जमिनको प्रबन्धसहित मुक्त हलिया पुनस्र्थापना भएका बस्तीहरूमा एकिकृत बस्ती विकास आयोजना सिफारिस गरियोस्,’ भूमि आयोग डडेल्धुरालाई बुझाइएको ज्ञापनपत्रमा भनिएको छ,  भू–उपयोगिता नीति बमोजिम क्षमता उपयुक्तता र आवश्यकताको आधारमा गरिएको वर्गिकरणअनुसार दलित भूमिहीन र सुकुम्बासीहरूको भूमि उपयोग सुनिश्चित गरियोस्।’

यस्तै, भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलगायत सीमान्तकृत वर्गहरू मुक्तहलियाहरूको भूमिमाथिको अधिकार र पहुँच सुनिश्चित गर्नुपर्ने, आधुनिक प्रविधिमाआधारित नापनक्साका आधारभूत पूर्वाधार तयार गरी सोहीआधारमा दलित भूमिहीन र सुकुम्बासीहरूलाई भूमि उपलब्ध गराउनुपर्ने माग भूमि अधिकार युनियनले अगाडि सारेको छ।

भौगोलिक सूचना पूर्वाधारको अवधारणा बमोजिम दलित भूमिहीन र सुकुम्बासीहरूलाई आधारभूत भौगोलिक सूचनालगायत विभिन्न क्षेत्रका क्षेत्रगत सूचना उपलब्ध गराउनुपर्ने तथा जग्गा प्रशासनका सम्पूर्ण सेवाहरुलाई एकद्वार प्रणाली प्रवाह गरी दलित भूमिहीन र सुकुम्बासीहरुका लागि भूमिवितरण प्रणाली सहज, सरल, विश्वासनीय र पारदर्शी बनाउनुपर्ने माग आफूहरूका रहेको अध्यक्ष टमोटाले बताए।

सम्बन्धित पाेष्टहरु
Loading...