Radio Unity 92.2MHz

‘डडेल्धुरा महोत्सव’ मंगलबारदेखि, प्रदेश प्रमुखले उद्घाटन गर्ने

डडेल्धुरा: डडेल्धुरा सदरमुकाममा ‘डडेल्धुरा महोत्सव २०७८’ मंगलबारदेखि सुरु हुँदैछ। अमरगढी नगरपालिकाको आयोजनामा मंगलबारदेखि १० गतेसम्म टुँडिखेलमा महोत्सव सञ्चालन हुने भएको हो।

महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ। ‘शिक्षा, स्वास्थ्य, कृषि पर्यटन पूर्वाधार, अमरगढी स्मार्ट सिटी निर्माणको आधार’ नाराका साथ महोत्सव आयोजना गर्न लागिएको नगरपालिकाले जनाएको छ।

रजत जयन्तीको अवसर पारेर प्रतिभा पहिचान तथा संस्कृति संरक्षणका लागि महोत्सवको आयोजना गरिएको नगर प्रमुख विशेश्वरप्रसाद ओझाले जानकारी दिए। महोत्सवको उद्घाटन सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले गर्ने उनले बताए।

महोत्सवले अमरगढीको मात्र नभएर डडेल्धुरासहित सुदूरपश्चिमको पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुग्ने उनको भनाइ छ। महोत्सवले स्थानीय कला संस्कृतिको संरक्षण गर्ने नगरप्रमुख ओझाले जिकिर गरे। महोत्सवमा सुदूरपश्चिमको कला संस्कृतिको संरक्षणमा जोड दिइनेछ।

प्रतिभा पहिचान तथा संस्कृति संरक्षणका लागि महोत्सवको आयोजना गरिन लागेकाले कर्णाली पारीका कुनै पनि कलाकारलाई महोत्सवमा स्थान नदिइने ओझाको भनाइ छ।

महोत्सवमा सुदूरपश्चिमका राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुतिसँगै हुडकेली, छलिया, देउडालगायतका स्थानीय प्रस्तुति हेर्न सकिने र महोत्सवमा प्रवेश शुल्क नलाग्ने जानकारी उनले दिए। महोत्सवका लागि नेपाल पर्यटन बोर्डले ५ लाख रूपैयाँ सहयोग गरेको छ।

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।