Radio Unity 92.2MHz

डडेल्धुरामा पत्रकार महिलाहरूको क्षमता विकासका लागि प्रदेशस्तरीय भेला

विचारमा स्पष्ट सेवा प्रवाहमा तठस्थ हुन मन्त्री जोशीको आग्रह

डडेल्धुरा: सुदूपश्चिमका पत्रकार महिलाहरूको क्षमता विकासका लागि प्रदेशस्तरीय भेला डडेल्धुरामा सुरु भएको छ। नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको आयोजनामा मंगलबारदेखि दुई दिने भेला डडेल्धुरा सदरमुकाममा सुरु भएको हो ।

आन्तरिक मामिला तथा कानून मन्त्रालय सुदूरपश्चिम र ओरेक नेपाल संगको सहकार्यमा महासंघले दुई दिने क्षमता विकास महिला पत्रकार भेलाको आयोजना गरेको हो । भेलाको उद्घाटन शत्रलाई सम्बोधन गर्दै सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले विचारमा स्पष्ट र सेवा प्रवाहमा तठस्थ हुन महिला पत्रकारहरुलाई अग्रह गरेकी छन्।

उनले सुदूरपश्चिममा पत्रकारिता विषय नै अध्ययन गरेर सेवा प्रवेश गर्नेको अभाव रहेको बताइन् । पत्रकारिता विषय पढाइ हुने विद्यालय तथा क्याम्पस कम भएकाले अभाव रहेको उनको भनाइ थियो । उनले यहाँका महिलाहरूका समस्याहरूलाई पत्रकारहरूले बाहिरि ल्याउनु आवश्यक रहेको बताइन् । महिलामाथि अन्याय भए सबै महिलाहरू एकजुट भएर अगाडि बढ्नुपर्नेमा उनको जोड थियो ।

उनले सुदूरपश्चिम प्रदेश सरकारले ल्याउन लागेको सञ्चार विद्येयक असाध्यै आलोचित भएपछि अहिले लागू हुने अवस्थामा नरहेको र आफूले मन्त्रालय सम्हालेदेखि पत्रकार महासंघको समन्वयमा सञ्चार नीति निर्माण भएको बताइन् । उनले कानून बनाउँदा भेदभावरहीत अथवा न्याय मुलक कानुन बनाउने प्रतिबद्धता व्यक्त गरिन् ।

सोही कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रोसन पुरीले नेपाल सरकारले सामाजिक सञ्जालमा समेत लेख्न नपाउने गरी ल्याउन लागेको कानून मान्य नहुने बताएका छन् ।

सञ्चारकर्मीले आफ्नो सामाजिक सञ्जालमा समेत टिप्पणी गर्न नपाउने गरी नेपाल सरकारले कानून ल्याउन लागेको उल्लेख गर्दै उनले महासंघलाई त्यो मान्य नहुने बताएका हुन् ।

उनले पत्रकारिता क्षेत्रको विकास र पत्रकारहरुका समस्याका सवालमा सरकारसंग विभिन्न पहलहरू भइरहेको जानकारी दिएका छन् । पत्रकारहरुको निःशुल्क उपचार गर्ने व्यवस्था बजेटमा समावेश गरिनु पत्रकार महासंघको पहलमा भएको जनाउँदै कार्यान्वयन गर्ने इच्छाशक्ति सरकारले नदेखाएकाले संघीय सरकारका अर्थमन्त्रीलाई विषेश आग्रह गरिएको उनले बताएका छन् ।

पत्रकार वृत्तिकोषमा सरकारले थोरै पत्रकारलाई समेट्ने गरी कार्यविधि बनाएकाले यसलाई व्यवस्थित लगेर जान जारुरी रहेको उनको भनाइ छ ।

उनले स्थानीय तहको आसन्न निर्वाचनलाई लक्षित गरी सबै बुथ केन्द्रमा पत्रकारको सहज पहुँच, निर्वाचनमा हुने विकृती, बिसंगती, पत्रकारहरुका तर्फबाट हुने कमी कमजोरीलाई हटाउन निर्वाचन आयोगसंग पहल भइरहेकोसमेत जानकारी दिएका छन् । भेलामा प्रदेशका ९ आटै जिल्लाका महिला पत्रकारको सहभागीता रहेको छ । भेलामा महिला पत्रकारका समस्याका बारेमा विशेष छलफल हुँदैछ।

सम्बन्धित पाेष्टहरु
Loading...