Radio Unity 92.2MHz

सुदूरपश्चिममा चुनावी गठबन्धन हुँदैन : सभापति बलायर

प्रचण्ड ‘डरपोक’ नेता

डडेल्धुरा: पूर्व मन्त्री तथा नेपाली काँग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले आसन्न स्थानीय निर्वाचनमा सुदूरपश्चिममा चुनावी गठबन्धन नहुने बताएका छन्।

सोमबार प्रेस युनियन डडेल्धुरा शाखाले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सो कुरा बताएका हुन्। सिंहदरबारका लागि गठबन्धन भए पनि स्वच्छ रूपमा गठबन्धन नहुन सकेको उनको भनाइ छ।

उनले केही प्रदेशमा गठबन्धन भएपनि सुदूरपश्चिममा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीको बहुमत रहेकोलेसरकारमा आफूहरू अटाउन नसकेको बताए।

‘हामीहरू न सरकारमा छौं, न शक्तामा छौं। तर, यो सरकारलाई हामीले साथ दिइरहेका छौं,’ उनले भने, ‘यदि गठबन्धन हो भने त सुदूरपश्चिममा काँग्रेस सरकारमा हुनु पथ्यो। प्रदेश सरकारमा काँग्रेसलाई ल्याउन नचाहेकाले गठबन्धनको सम्भावना टाढिएको छ।’

सरकारमा रहेका दलबाट काँग्रेसलाई पेल्ने मात्र काम भएको उनले जिकिर गरे। उनी भन्छन्, ‘उहाँहरू र हाम्रो आवश्यकता भएको ठाउँमा मात्र गठबन्धन हुन्छ।’

‘चुनाव नजिकिँदै गर्दा पनि अहिलेसम्म छलफल वार्ता केही हुन सकेको छैन्। हामी गठबन्धन गरौं भनेर कसको दैलोमा जाने? त्यसैले हामीले जनतालाई काँग्रेस एक्लै चुनावमा जाने सन्देश दिएका छौं,’ उनले भने।

संस्थापन इतर पक्षका नेता हरिप्रसाद भट्टले अमरगढी नगरपालिकाको प्रमुखमा दिएको उम्मेदवारीको विषयमा बोल्दै उनले काँग्रेसको माध्यमबाट उम्मेदवारीको चाहाना आउनु पर्ने बताए।

केही दिनभित्र पूर्व डडेल्धुरा जिल्ला सभापति कर्ण मल्लसँग कुराकानी गरेर उहाँको चाहाना के हो र उहाँ के चाहनुहुन्छ? पार्टीले सन्तुष्ट गर्न सक्छ कि सक्दैन्? भनेर छलफल गर्ने उनी बताउँछन्।

प्रचण्ड ‘डरपोक’ नेता
बलायरले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बारम्बार डराइरहने भएकोले कहिले एमाले र कहिले काँग्रेससँग मिल्ने गरेको बताए।

‘प्रचण्ड र माधव जीको पार्टी फलाउन फुलाउन आफ्नो पार्टीमा हामी आगो लगाउन सक्दैनौं। काँग्रेस बलियो भयो भने नेपालमा कम्युनिष्ट एक हुने चलन हो,’ उनले भने, ‘काँग्रेस बलियो हुँदा मिल्नु हुन्छ। शक्तामा खान र लुट्न झगडा हुँदा फेरि मिल्नुहुन्छ।’

नेपालको राजनीति धुव्रिकरण हुनु पर्ने र एउटा कम्युनिष्ट र एउटा काँग्रेसको मोर्चा हुनु पर्नेमा उनले जोड दिए।

काँग्रेसले मजबुत बनाएको देशको ढुकुटी कम्युनिष्टले रित्याएको बताउँदै उनले देशलाई तहसनहस बनाएको आरोप लगाए।

सम्बन्धित पाेष्टहरु
Loading...