Radio Unity 92.2MHz

डडेल्धुरामा कृषिगणनाका लागि सुपरिवेक्षक र गणकलाई तालिम दिइँदै

डडेल्धुरा: डडेल्धुरामा राष्ट्रिय कृषिगणना २०७८ का लागि सुपरिवेक्षक र गणक तालिम सुरु भएको छ। कृषिगणना कार्यालय डडेल्धुराको आयोजनामा शुक्रबारदेखि जिल्ला सदरमुकाममा तालिम सुरु भएको हो।

१० जना सुपरिवेक्षक र ३८ जना गणक तालिम दिइरहेको कृषिगणना कार्यालय डडेल्धुराका कृषिगणना अधिकृत चन्द्रबहादुर पालले जानकारी दिए। उनका अनुसार सुपरिवेक्षक र गणकलाई कृषिगणना गर्दा कसरी तथ्याङ्क संकलन गर्नेलगातायका विषयमा सिकाइँदै छ।

तालिमको उद्घाटन कार्यक्रममा बोल्दै डडेल्धुरा प्रमुख जिल्ला अधिकारी तथा जिल्ला कृषिगणना समन्वय समितिका अध्यक्ष मोहनराज जोशीले तालिममा सिकेका कुरालाई फिल्डमा गएर सत्यतथ्य तथ्याङ्क ल्याउन गणकहरूलाई आग्रह गरे। नेपालको अर्थतन्त्रमा कृषिक्षेत्रको महत्वपूर्ण स्थान रहेको उल्लेख गर्दै उनले यो क्षेत्रको समग्र विकासका लागि चाहिने सही तथ्याङ्क संकलन गर्न पनि गणकहरूलाई अनुरोध गरे।

गणकहरूको तालिम आउँदो २ वैशाख र सुपरिवेकको वैशाख ३ गतेसम्म चल्नेछ। डडेल्धुरामा सातौं राष्ट्रिय कृषिगणना आगामी वैशाख ६ गतेदेखि सुरु हुँदैछ । प्रत्येक १० वर्षमा गरिने कृषिगणना यसपटक ६ वैशाखदेखि १९ जेठसम्म ४५ दिन हुनेछ। ‘कृषिगणनाको सार, कृषि योजनाको पूर्वाधार’ भन्ने मूलनारासहित कृषिगणना सुरु हुन लागेको हो।

कृषि गणनाका लागि तथ्याङ्क संकलनको कार्य एउटै समयसीमामा दुई चरणमा सञ्चालन गरिनेछ। पहिलो चरणमा गणकहरूद्वारा प्रत्येक व्यक्तिको घरदैलोमा पुगी तोकिएको न्यूनतम् मापदण्ड पूरा गरेका कृषक परिवारहरूको सूचीकरण कार्य गरिनेछ। कृषिगणना अधिकृत पालका अनुसार दोस्रो चरणमा तथ्याङ्क छनोट विधिबाट सुपरिवेक्षकहरूद्वारा छानिएका कृषक परिवारमा पुगी गणकहरूद्वारा कृषकले चलान गरेको जग्गा तथा पशुपन्छीपालन, अन्य खेतीलगायत विविध विषयसम्बन्धी विस्तृत विवरणहरू संकलन गरिनेछ।

कृषि विकासका लागि स्थानीय, जिल्ला, प्रदेश तथा राष्ट्रियस्तरका योजना तर्जुमा एवं नीति निर्माण, अनुगमन तथा मूल्याङ्कन गर्न आवश्यक पर्ने तथ्याङ्कको खाँचो पूरा गरी योजनाविद् र नीति निर्माताहरूलाई सघाउ पु¥याउने उदेश्यले कृषिगणना गरिन लागिएको हो। गणनाका क्रममा कृषकले चलन गरेको जग्गाको आकार, जग्गाको उपभोग र उपयोग, बाली लागेको जग्गाको क्षेत्रफल, मूख्य बालीहरूको उत्पादन र सिँचाइको विवरण लिइनेछ।

यसका साथै कृषि सामग्री र औजारको उपयोग, पशुपन्छीको संख्या र आहारसम्बन्धी विवरण, कृषि–कार्यमा संलग्न जनशक्ति, लिङ्गको आधारमा कृषि जग्गाको स्वामित्वको अवस्थाको बारेमा तथ्याङ्क संकलन तथा कृषि वन, कृषि ऋण, बीमा, अनुदान, कृषिकार्यमा जलवायु परिवर्तनको प्रभाव, हरितगृह पद्धतिको प्रयोग, माटो परीक्षण, कृषि बजारसम्मको पहुँच, कृषि अवशेष र फोहोरको व्यवस्थापनजस्ता विविध विषयहरूमा तथ्याङ्क सङ्कलन गरिने कृषिगणना अधिकृत पालले बताए।

यसपालिको कृषिगणनामा कृषक परिवारसँगै समुदायमा आधारित कृषिकार्यका अतिरिक्त सरकारी, अर्धसरकारी, सहकारी र संस्थागत रूपले सञ्चालन भएका व्यावसायिक कृषिकार्यहरूको पनि तथ्याङ्क संकलन गरिने कृषिगणना अधिकृत पालले जानकारी दिए। कृषिगणना २०१८ सुरु भएको थियो।

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।