घटालथानमा बिशु जाँत भोलि : ‘जहाँ धामीले मुखभरी बालुवा लिएर खान्छन्’
डडेल्धुरा : डडेल्धुराको अमरगढी नगरपालिका–३ डोटी खेलाको पुछारमा रहेको सुदूरपश्चिमको प्रमुख धार्मिक शक्तिपिठ घटाल थानमा वैशाख २ गते लाग्ने विसु जाँत (मेला)को तयारी पूरा भएको छ ।
वर्षेनि नयाँ वर्षको दोस्रो दिन घटाल थानमा विसु जाँत धुमधामसंग धार्मिक आस्थाका साथ मनाइने गरिन्छ ।
डोटीखोला आसपासका गाउँबस्ती संगै सदरमुकाम खलंगा र छिमेकी जिल्लाबाट पनि ठूलो संख्यामा भक्तजनहरु विशु जाँतका बेला घटाल बाबाको पूजाआजा संगै यो विशेष अवसरमा काम्ने घटालका धामीबाट आशिषसहित अक्षता र प्रसाद ग्रहण गरेर घर फर्कने गर्छन् ।
मेला भर्न सुदूरपश्चिमका पहाडि जिल्लाका साथै तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरबाट समेत भक्तजनहरु आउने गर्दछन् । विशु जातमा धामीले निहुरिएर मुखभरी बालुवा लिएर खाने गर्दछन् ।
घटाल बाबासंग कसैले केहि मागेमा मनोकामना पूरा हुने जनविस्वास रहदै आएको छ । यहाँ मनोकामना पूरा भएपछि बोकाको बलि दिने चलन अहिले पनि रहि आएको छ ।
किंवदन्तीअनुसार डोट्याली राजा नागी मल्लकी पुत्रविहीन रानीले भारतको गढवालबाट घटाल देउता दाइजोमा ल्याएको तर देउतालाई अहिले मन्दिर रहेको स्थानबाट दरबारसम्म लैजान नसकिएपछि त्यहीँ नै घटालबाबा स्थापना गरिएको बताइन्छ । पश्चिमी क्षेत्रमा आस्तिकहरू माझ घटालबाबाले मनोकामना पूरा गरिदिने जनविश्वास रहँदै आएको छ ।
विशु जाँतको एक दिनअघि चम्सालमा रहेको देवघरबाट देउताको देउरो घटालस्थान र्पुयाइने घटाल क्षेत्र विकास समाजले जनाएको छ ।
विशु जाँतका बेला आफ्नो थातथलो छोडेर टाढा पुगेकाहरु पनि जाँतका बखत एकै दिनका लागि भएपनि घर फर्कने गरेका स्थानीय बताउँछन् । द्वापरयुगमा कुरुक्षेत्रमा भएको कौरव र पाण्डव बिचको धर्मयुद्धमा भीमपुत्र घटोत्कचले ठूलो पराक्रम प्रदर्शन गरेका थिए । उनले कौरव सेना माथी धावा बोलेर ठूलो क्षति र्पुयाएको धार्मिक ग्रन्थहरुमा उल्लेख छ ।
लडाइ मैदान मैवीरगति प्राप्त गरेका घटोत्कचको पराक्रम देखेका श्रीकृष्णले उनलाई कलियुगमा ख्याति प्राप्त भगवानका रुपमा मान्यता पाउने वरदान दिएको परापूर्वकाल देखिको भनाइ रहेको छ । सदियौ.देखि त्यहि मान्यता अनुरुप घटाल बाबालाइ यसक्षेत्रका बासिन्दाले ठूलो धार्मिक आस्था र सम्मानका साथ पुज्ने गरेका स्थानीय बताउँछन् ।