Radio Unity 92.2MHz

मन्त्री बोहरालाई गृहजिल्ला डडेल्धुरामा भव्य स्वागत (फोटो फिचर)

शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार हुने गरी काम गर्ने प्रतिबद्धता

डडेल्धुराः सुदूरपश्चिम प्रदेश सरकारका नवनियुक्त सामाजिक विकासमन्त्री गोविन्दराज बोहरालाई गृहजिल्ला डडेल्धुरामा भव्य स्वागत गरिएको छ। मन्त्री बनेपछि पहिलोपटक गृहजिल्ला आएका बोहरालाई नेपाली कांग्रेस डडेल्धुराले भव्य स्वागत गरेको हो।

डडेल्धुरा प्रदेश (ख) बाट प्रदेश समानुपातिक सांसद बोहरा गत साता मात्रै मन्त्री बनेका थिए । गृहजिल्ला आएका बोहरालाई जिल्ला सदरमुकामको बसपार्कदेखि निर्माण व्यवसायी संघको सभा हलसम्म बाजागाजासहित स्वागत गरिएको थियो ।

जन्म वि.स २०१८ सालमा डडेल्धुराको अमरगढी नगरपालिका–३ डोटी घटाल (चम्साल) मा जन्मेका बोहरा पहिलोपटक मन्त्री बनेका हुन् । बोहराको सम्मानमा नेपाली कांग्रेस डडेल्धुराले आइतबार स्वागत तथा अभिनन्दन कार्यक्रममा आयोजना गरेको थियो ।

सो कार्यक्रममा बोल्दै मन्त्री बोहराले प्रदेश सरकारका बाँकी ८ महिनामा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार हुने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले आउँदो बजेटमा निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम ल्याउने पनि बताएका छन् ।

उनले पैसाको अभावमा अझैं पनि उपचार नपाएर सुदूरपश्चिमका नागरिकले अकालमै ज्याउन गुमाउनुपर्ने बाध्यता रहेकाले निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम ल्याउने आश्वासन दिएका छन् । उनले यस कार्यक्रमको तयारी गर्न मन्त्रालयका कर्मचारीहरूलाई आफूले निर्देशन दिइसकेको पनि जानकारी दिएका छन् ।

शिक्षा क्षेत्रमा पनि नमूना रूपले काम गर्नको लागि यस क्षेत्रका सबै विज्ञहरूसँग छलफल र परामर्श गरिरहेको उनको भनाइ छ । मन्त्री बोहराले आफू कम्युनिस्टको जसरी बजेट छरेर काम गर्ने पक्षमा नरहेको पनि दाबी गरेका छन् । उनले प्राविधिक शिक्षालाई प्राथमिकता दिएर त्यस क्षेत्रको विकास र विस्तारमा ध्याने पनि प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले विश्वसहित नेपालमा पनि आर्थिक संकट देखिन थालेको बताएका छन् । मन्त्री बोहराले केपी शर्मा ओली नेतृत्वको सरकारले साढे तीन वर्षमा राष्ट्रको ढुकुटी सिध्याएको आरोप लगाएका छन् । उनले ओलीले आफ्नो उपचारमा मात्रै २७ करोड सरकारी रूपैयाँ खर्च गरेको पनि बताएका छन् ।

सम्बन्धित पाेष्टहरु
Loading...