डडेल्धुरामा कृषिगणना सुरु, १० सुपरिवेक्षक र ३८ गणक खटिए
डडेल्धुराः डडेल्धुरामा सातौं राष्ट्रिय कृषिगणना २०७८ सुरु भएको छ। ‘कृषिगणनाको सार, कृषि योजनाको पूर्वाधार’ भन्ने मूलनारासहित मंगलबारदेखि जिल्लामा राष्ट्रिय कृषिगणना सुरु भएको हो।
तथ्याङ्क संकलनका लागि घर–घरमा आएका गणकहरूलाई सत्य तथ्य विवरण टिपाएर सहयोग गर्न कृषिगणना कार्यालय डडेल्धुराले जिल्लाबासीलाइ अपिलसमेत गरेको छ।
जिल्लामा कृषिगणनाका लागि १० जना सुपरिवेक्षक र ३८ जना गणक खटाइएको कृषिगणना कार्यालय डडेल्धुराका कृषिगणना अधिकृत चन्द्रबहादुर पालले जानकारी दिए। गणना अभियान सुरु गर्नुअघि चैत २५ गतेदेखि गणकलाई २ वैशाख र सुपरिवेकलाई वैशाख ३ गतेसम्म तालिम दिइएको थियो।
प्रत्येक १० वर्षमा गरिने कृषिगणना मंगलबारदेखि सुरु भई १९ जेठसम्म ४५ दिन हुनेछ। कृषि गणनाका लागि तथ्याङ्क संकलनको कार्य एउटै समयसीमामा दुई चरणमा सञ्चालन गरिँदैछ। पहिलो चरणमा गणकहरूद्वारा प्रत्येक व्यक्तिको घरदैलोमा पुगी तोकिएको न्यूनतम् मापदण्ड पूरा गरेका कृषक परिवारहरूको सूचीकरण कार्य गरिनेछ।
कृषिगणना अधिकृत पालकाअनुसार दोस्रो चरणमा तथ्याङ्क छनोट विधिबाट सुपरिवेक्षकहरूद्वारा छानिएका कृषक परिवारमा पुगी गणकहरूद्वारा कृषकले चलान गरेको जग्गा तथा पशुपन्छीपालन, अन्य खेतीलगायत विविध विषयसम्बन्धी विस्तृत विवरणहरू संकलन गरिनेछ।
कृषि विकासका लागि स्थानीय, जिल्ला, प्रदेश तथा राष्ट्रियस्तरका योजना तर्जुमा एवं नीति निर्माण, अनुगमन तथा मूल्याङ्कन गर्न आवश्यक पर्ने तथ्याङ्कको खाँचो पूरा गरी योजनाविद् र नीति निर्माताहरूलाई सघाउ पुर्याउने उदेश्यले कृषिगणना गरिन लागिएको हो। गणनाका क्रममा कृषकले चलन गरेको जग्गाको आकार, जग्गाको उपभोग र उपयोग, बाली लागेको जग्गाको क्षेत्रफल, मूख्य बालीहरूको उत्पादन र सिँचाइको विवरण लिइनेछ।
यसका साथै कृषि सामग्री र औजारको उपयोग, पशुपन्छीको संख्या र आहारसम्बन्धी विवरण, कृषि–कार्यमा संलग्न जनशक्ति, लिङ्गको आधारमा कृषि जग्गाको स्वामित्वको अवस्थाको बारेमा तथ्याङ्क संकलन तथा कृषि वन, कृषि ऋण, बीमा, अनुदान, कृषिकार्यमा जलवायु परिवर्तनको प्रभाव, हरितगृह पद्धतिको प्रयोग, माटो परीक्षण, कृषि बजारसम्मको पहुँच, कृषि अवशेष र फोहोरको व्यवस्थापनजस्ता विविध विषयहरूमा तथ्याङ्क सङ्कलन गरिने कृषिगणना अधिकृत पालले बताए।
यसपालिको कृषिगणनामा कृषक परिवारसँगै समुदायमा आधारित कृषिकार्यका अतिरिक्त सरकारी, अर्धसरकारी, सहकारी र संस्थागत रूपले सञ्चालन भएका व्यावसायिक कृषिकार्यहरूको पनि तथ्याङ्क संकलन गरिने कृषिगणना अधिकृत पालले जानकारी दिए। कृषिगणना २०१८ सुरु भएको थियो।