डडेल्धुरामा स्थानीय तह निर्वाचनको तयारी तीव्र
निर्वाचन अधिकृतका कार्यालय स्थापना
डडेल्धुरा: वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि डडेल्धुरामा तयारी तीव्र पारिएको छ । दुई नगरपालिका र पाँच गाउँपालिका गरी सातवटा स्थानीय तह रहेको जिल्लामा चुनावको तयारी तीव्र पारिएको हो ।
बिहीबार डडेल्धुरामा पनि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका कार्यालय स्थापना भएका निर्वाचन अधिकारी करुणकर अवस्थीले जानकारी दिएका छन् ।
जिल्ला निर्वाचन कार्यालय डडेल्धुराका अनुसार जिल्लामा कूल ९० हजार १ सय १९ मतदाता रहेका छन् । जसमा ४४ हजार ६ सय ६४ पुरुष र ४५ हजार ४ सय ५५ जना महिला छन् । मतदाताको संख्याअनुसार मतदान केन्द्र र मतदानस्थल पनि निर्धारण गरिएको छ । जिल्लामा ८० मतदान स्थल र १ सय २६ वटा मतदान केन्द्र तोकिएको छ ।
निर्वाचन सम्पन्न गराउनका लागि ९ सय ९९ जना कर्मचारीहरू खटिने निर्वाचन अधिकारी अवस्थीले जानकारी दिएका छन् । जसमा ६ सय २१ जना कर्मचारी र ३ सय ७८ जना स्वयंसेवक कर्मचारी रहनेछन् ।
उनले निर्वाचन आयोगले पठाएका निर्वाचन सामग्री तथा नमूना मतपत्रहरू सातै तहका निर्वाचन अधिकृतको कार्यालयसम्म पु¥याइसकिएको बताएका छन् । उनले अमरगढी नगरपालिका, अजयमेरु गाउँपालिका, नवदुर्गा, भागेश्वर र गन्यापधुरा गाउँपालिका अधिकांश मतदान केन्द्रको अनुगमन गरिसकेको जानकारी दिए ।
केही दिनमै बाँकी रहेका भित्रीमधेसका आलिताल गाउँपालिका र परशुराम नगरपालिकाका मतदान केन्द्रहरूको पनि अनुगमन र निरीक्षण गर्ने उनको भनाइ छ । उनले १ सय २६ मतदान केन्द्रमध्ये दुई केन्द्र मात्रै भवनविहीन रहेको जानकारी दिएका छन् । जसमा अमरगढी नगरपालिका–४ को टुँडिखेल मदतान केन्द्र र परशुराम नगरपालिका–६ को कुणा मदतान केन्द्र रहेको छ । भवन नहुँदा दुई मदतान केन्द्रमा खुल्ला चौरमा चुनाव गर्नुपर्ने बाध्यता रहेको निर्वाचन अधिकारी अवस्थीले बताएका छन् ।
स्थानीय तहको निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, मर्यादित, निष्पक्ष र विश्वसनीय गर्नका लागि व्यवस्थापकीय सबै तयारी पूरा गरिसकेको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए । उनले ८० मतदात स्थलमध्ये २१ अति संवेदनशील मतदान स्थल, ४० संवेदनशील र १९ सामान्य रहेको बताएका छन् ।
निर्वाचन भयरहीत वातावरणमा सम्पन्न गराउनका लागि सुरक्षाको तयारी पनि पूरा भइसकेको प्रजिअ जोशीले जानकारी दिएका छन्। उनले जिल्लामा अहिलेसम्म निर्वाचन आचारसंहिता उल्लंघनका घटना नभएको पनि बताएका छन् । निर्वाचन आचारसंहिता गत चैत २५ गतेदेखि लागू भएको थियो ।