महिलाहरू नगर हाक्न सक्छन् भन्ने शुभ सन्देश दिन उम्मेदवारी दिएकी हुँ
डडेल्धुराः नेकपा एकीकृत समाजवादी पार्टी डडेल्धुराबाट अमरगढी नगरप्रमुखमा उम्मेदवारी दिएकी संगिता भण्डारीले महिलाहरू नगर हाक्न सक्छन् भन्ने देखाउन अमरगढीको मेयरमा उम्मेदवारी दिएको बताएकी छन्।
मूख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्ने क्रममा हिजो सञ्चारकर्मीसँग कुरा गर्दै भण्डारीले देशभरी नै महिलाहरूले नगर हाक्न सक्छन् भन्ने शुभ सन्देश दिनको लागि उम्मेदवारी दिएको बताएकी हुन्।
‘महिलाहरू पनि प्रमुख पदका दाबेदार हुन सक्छन्। महिलाहरू पनि नगर हाक्न सक्छन्। र, महिलाहरू पनि नगरको विकास गर्न सक्छन्। भन्ने सन्देश दिनका लागि मेरो उम्मेदवारी हो,’ उनले भनिन्, ‘हामी महिलाहरू पनि सक्षम छौं। पुरुषसँगै हामी प्रतिष्पर्दा गरेर अगाडी जान सक्छौं।’
पुरुषहरू भन्दा महिला कमजोर छैनन् भनेर देखाउन पुरुषसँगै नगर प्रमुखमा उम्मेदवारी दिएको उनले बताइन्। उनले विगतमा उपमेयर हुँदै गर्दा भोगेका भोगाइ र सिकाइको आधारमा समृद्ध अमरगढी बनाउने उठोट रहेको बताइन्।
भण्डारी २०७४ को स्थानीय तहको निर्वाचनमा अमरगढीको उपमेयरमा विजयी भएकी थिइन्।