महामन्त्री गगन थापालाई म ‘ट्युसन’ पढाउन सक्छु : नेता मल्ल
'कांग्रेससँग बिपीले स्थापना गरेको घोषणापत्र नै छैन'
डडेल्धुराः सुदूरपश्चिम प्रदेशसभाका पूर्व सदस्य कर्णबहादुर मल्लले आफूले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई ‘ट्युसन’ पढाउने सक्ने बताएका छन्। उनले बिहीबार जिल्ला सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन्।
उनले नेपाली कांग्रेसँग बिपी कोइरालाले स्थापन गरेको घोषणापत्र नै नभएको बताएका छन्। उनले बीपी कोइरालाले स्थापन गरेको घोषणापत्र (मेनिफस्टो) र अहिलेको घोषणापत्र मिल्छ भनेर महामन्त्री थापालाई ट्युसन पढाउने सक्ने बताएका छन्।
महामन्त्री थापाले बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बालकोट नै पुगेर ट्युसन पढाउनुपर्ने बताएका थिए। त्यसको दोस्रो दिन नेता मल्लले आफू बीपीले स्थापन गरेको घोषणापत्र र अहिलेको घोषणापत्र कहाँ मिल्छ भनेर थापालाई ट्युसन पढाउने सक्ने बताएका हुन्।
‘कांग्रेस यस्तो पार्टी हो जसँग बीपी कोइरालाले स्थापना गरेको मेनिफस्टो नै कांग्रेससँग छैन आज। हिजो कांग्रेस महामन्त्री (थापा) जी ले ट्युसन पढाउन केपी ओलीलाई बालकोट जान्छु भन्दै थिए तर म उहाँलाई ट्युसन पढाउन सक्छु,’ मल्लले भने, ‘तपाईं जुन पार्टीको महामन्त्री हुनभएको छ। बीपीले स्थापन गरेको मेनिफस्टो र अहिलेको मेनिफस्टो मिल्छ? भनेर थापालाई ट्युसन पढाउन सक्छु, बहस गर्न सक्छु।’
यसका साथै उनले विधानविपरीत आफूलाई कांग्रेसबाट हटाइएको उनको आरोप छ। नेपाली कांग्रेसले मंगलबार मात्रै मल्लले पार्टीको विधानविपरीत कार्य गरेको भन्दै सदस्यसमेत नरहने गरी हटाइएको थियो। डडेल्धुरामा नेपाली कांग्रेस (बिपी)मा प्रवेश गर्दै एमालेसँग चुनावी तालमेल गरेपछि मल्ललाई कांग्रेसबाट हटाइएको हो।
डडेल्धुरामा सातै स्थानीय तहमा बिपी कांग्रेसले नेकपा एमालेसँग गठबन्धन गरेको छ। अमरगढी नगरपालिकामा नगरप्रमुख कांग्रेस (बिपी)बाट हरिप्रसाद भट्ट‚ अजयमेरु गाउँपालिकाका कांग्रेस (बिपी)बाट उपाध्यक्ष राजेन्द्र ऐर, नवदुर्गाका अध्यक्षमा कांग्रेस(बिपी)बाट गोकुल शाही, गन्यापधुरामा कांग्रेस (बिपी) बाट सुरेन्द्र मालीले अध्यक्षमा उम्मेदवारी दिएका छन्। परशुराम नगरपालिकाका उपप्रमुख र भागेश्वर गाउँपालिकाका उपाध्यक्ष कांग्रेस (बिपी)लाई दिने सहमति भएको छ। आलिताल गाउँपालिकाका भने अध्यक्ष र उपाध्यक्ष दुवैमा एमालेलाई सहयोग गर्ने बताइएको छ।
कांग्रेस डडेल्धुराको सातौं जिल्ला अधिवेशनप्रति मल्ल समूह असन्तुष्ट थियो। देउवा समूहले जिल्ला अधिवेशन अवैधानिक ढंगले गरेको आरोप उनीहरूको थियो। उनीहरू ११ दिनसम्म अनशन बसेर प्रदर्शन गरेका थिए। त्यसपछि केन्द्रबाट कांग्रेसका नेताहरू अर्जुनरसिंह केसी, डा.शेखर कोइराला र गुरुराज घिमिरेले डडेल्धुरा पुगेरै माग सुनुवाइ गर्ने आश्वासन दिँदै मल्ल समूहलाई अनशन स्थगित गर्न लगाएका थिए।
अनशन स्थगित गरेपछि पनि नेपाली कांग्रेसले उनीहरूको माग सुनेको थिएन। त्यसैले कांग्रेसको १४ औं महाधिवेशनप्रति मल्ल समूह असन्तुष्ट थियो। आफूलाई दिइएको आश्वासनमा कुनै सुनुवाइ नगरी महाधिवेशन शुरु गरेको भन्दै पुनः मल्ल समूहले असन्तुष्टि व्यक्त गर्दै आएको थियो। मल्ल समूह कांग्रेसको महाधिवेशनका वेला केन्द्रीय कार्यालय सानेपामा अनशन बसेका थिए।
कांग्रेस सभापति शेरबहादुर देउवाले अन्तिमसम्म पनि गृह जिल्लाको पार्टी मिलाउनमा चासो नदिएपछि आफूहरू कांग्रेस (बिपी)बाट स्थानीय तहको निर्वाचनमा जानुपरेको मल्ल समूहको भनाइ छ।
https://www.facebook.com/radiounity/videos/705751790622324