आलिताल, गन्यापधुरा र भागेश्वर गरी १७ जनाले फिर्ता लिए उम्मेदवारी
डडेल्धुराः डडेल्धुराको आलिताल गाउँपालिकामा १० जनाले उम्मेदवारी फिर्ता लिएका छन्। १० जनामध्ये ३ वडा अध्यक्षका उम्मेदवार रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
७ नम्बर वडा अध्यक्षका लागि स्वतन्त्र उम्मेदवारी दिएका प्रेमबहादुर घर्तीमगर, नेकपा एसबाट १ नम्बर वडाका लागि अध्यक्षकै उम्मेदवारी दिएका मोहन रोकाय, नेकपा एसकै ४ नम्बरको अध्यक्षका लागि उम्मेदवारी दिएका लालबहादुर बोहराले उम्मेदवारी फिर्ता लिएका लिएका हुन्।
१ सय ५७ उम्मेदवारी परेकोमा १० जनाले फिर्ता लिएपछि १ सय ४७ चुनावमा जाने भएका छन्।
यस्तै, गन्यापधुरा गाउँपालिकामा दुई वडाध्यक्षका उम्मेदवारसहित ५ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। निर्वाचन अधिकृतको कार्यालयकाअनुसार स्वतन्त्रबाट वडाअध्यक्षमा उम्मेदवारी दिएका इश्वरीप्रसाद अवस्थी, नेपाली कांग्रेस विपीबाट वडा नम्बर ४ को वडाध्यक्षका उम्मेदवार धर्मराज भट्टले उम्मेदवारी फिर्ता लिएका छन्। अन्य ३ जना वडा सदस्यले पनि उम्मेदवारी फिर्ता लिएका छन्।
उता भागेश्वर गाउँपालिकामा दुई जनाले उम्मेदवारी फिर्ता लिएका छन्। वडा नम्बर ३ का वडासदस्यका उम्मेदवार चन्द्रकान्त पाण्ड्य (नेपाली कांग्रेस बिपी) र वडा नम्बर ४ का स्वतन्त्र उम्मेदवार सूर्यप्रकाश साउँले फिर्ता दिएको निर्वाचन अधिकृतिको कार्यालय भागेश्वरले जनाएको छ। भागेश्वरमा अब १ सय २१ उम्मेदार चुनावी मैदानमा छन्।