Radio Unity 92.2MHz

डडेल्धुरामा आचारसंहिताको उल्लंघन, कांग्रेसले टाँस्यो बजार क्षेत्रमा पार्टीको झण्डा (फोटोफिचर)

डडेल्धुरा: नेपाली कांग्रेस डडेल्धुराले निर्वाचन आचारसंहिताको उल्लंघन गरेको छ। कांग्रेसले जिल्ला सदरमुकामको बागबजार क्षेत्रमा पार्टीको झण्डा टाँस्दै आचारसंहिताको उल्लंघन गरेको हो।

कांग्रेसले मुख्य निर्वाचन अधिकृतको कार्यालय नजिकै रहेको बजारमा चार तारे झण्डा टाँसेर बागबजार क्षेत्रलाई नै रङ्गीचङ्गी बनाएको छ।

राजनीतिक दल, उम्मेदवार तथा दलका भातृ संगठनले पालना गर्नुपर्ने आचरणको (ज) मा घर वा जग्गा धनीको अनुमति नलिई कसैको घर वा जग्गामा वा सार्वजनिक भवन, सार्वजनिक उद्यान, सार्वजनिक सडकका पोल वा कुनै पनि सार्वजनिक स्थानमा दलको झण्डा, दल वा उम्मेदवारको निर्वाचन चिन्ह राख्न वा टाँस्न नहुने उल्लेख छ।

तर, कांग्रेस बागबजारको सडकमाथि ठाउँठाउँमा पार्टीको झण्डा टाँसेको छ। शनिबारसम्म जिल्लाका अन्य राजनीतिक दलहरूले भने बागबजार क्षेत्रमा पार्टीको झण्डा टाँसेका छैनन्।

यस विषयमा डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई जानकारी गराएर हटाउन लगाउन प्रयास गर्ने बताए। ‘यदि झण्डा टाँसिएको छ भने म मुख्य निर्वाचन अधिकृतलाई जानकारी गराउँछु। उहाँहरूले अनुगमन गर्नुहुन्छ,’ प्रजिअ जोशीले भने, ‘मेरो तर्फबाट झण्डालाई हटाउन प्रयास गर्छु।’

मुख्य निर्वाचन अधिकृत हरिप्रसाद शर्माले भने यसबारेमा उजुरी नपरेको तर परेमा निर्वाचन आयोगलाई लेखि पठाउने बताए। ‘आचारसंहितले बजार क्षेत्रमा झण्डा राख्न पाइँदैन। उजुरी परेको खण्डमा प्रमाणसहित आयोगलाई पठाउउँछौं,’ उनले भने, ‘उजुरी नपरेसम्म त के गर्नू।’

मुख्य निर्वाचन अधिकृतको कार्यालय नजिकै रहेको झण्डा हटाउन मिल्दैन? भन्ने युनिटी खबरको प्रश्नमा शर्माले भने, ‘हामीले हेर्छौं तर तपाईंहरूको जसरी बोल्न मिल्दैन। यो कुरा स्पस्ट बुझ्नुहोस्। तपाईंहरूको जस्तो कमल हाम्रो स्वतन्त्र छैन। उजुरी परेमा प्रमाणसहित आयोगलाई पठाउउँछौं। स्थानीय राजनीतिक दलको अनुगमन समिति पनि छ।’

सम्बन्धित पाेष्टहरु
Loading...