Radio Unity 92.2MHz

ठकुराठीको घोषणापत्र : हेलिकोप्टरबाट बीऊ छर्नेदेखि वर्षभर जनतालाई दशैंसम्म

डडेल्धुराः डडेल्धुरास्थित भागेश्वर गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार खडक ठकुराठीको घोषणापत्र सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

स्वतन्त्र उम्मेदवार ठकुराठीले घोषणापत्रमा हेलिकोप्टरबाट बीऊ छर्नेदेखि जनताको घरमा ३६५ दिन नै दशैं मनाउनेसम्मका कार्यक्रम समेटेपछि उनको घोषणापत्र भाइरल बनेको हो।

नेकपा एमालेले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका ठकुराठीले आफ्नो घोषणापत्रमा ८ वटा बुँदा समेटेका छन्। उनले दुई वर्षभित्रमा भागेश्वर गाउँपालिकाका जनताहरूको आधारभूत आवश्यकताको पूर्ति गरी आवश्यक संरचना बनाइ नगरपालिका घोषण गरिने प्रतिवद्धता व्यक्त गरेका छन्।

गैरिबगडदेखि परशुराम नगरपालिकासम्म महाकाली नदिमा चार वर्षभित्रमा सुख्खा बन्दरगाह निर्माण गरी नेपाली झण्डा बाहक पानी जहाज चलाइने उनको घोषणापत्रमा उल्लेख छ।

जनताहरूलाई सुख, समृद्धि र शान्तिको पूर्ण प्रत्याभूति दिलाई आनन्दित जनताहरूलाई ३ सय ६५ दिन नै दशैं मनाउने वातावरण मिलाउने उनले बाचा गरेका छन्।

उनले कृषिलाई महत्वपूर्ण प्राथमिकतामा राखी भागेश्वरको खेती योग्य जमिनमा मौसमअनुसार हेलिकोप्टरबाट बीउ छर्ने र हेलिकप्टरबाटै सिँचाइको व्यवस्था मिलाइने जनाए।

निर्वाचन अधिकृतको कार्यालयबाट पुतली चिह्न पाएर चुनावी प्रचार–प्रसारमा होमिएका ठकुराठीले जनताको स्वास्थप्रति प्रतिबद्ध रही पशुपालन तथा कृषिमा टेवा पुग्ने उदेश्यले गाई, भैंसी तथा बाख्राहरूलाईसमेत अस्पतालमा सुत्केरी हुने व्यवस्था गराइने पनि घोषणापमत्रमा उल्लेख गरेका छन्।

यसैगरी उनले टप्वाको डाँडादेखि भागेश्वोर मन्दिरसम्म भक्तजनहरूलाई लक्षित गरी केबुलकार निर्माण गरिने तथा बेरोजगार युवालाई भत्ताका साथै सीपमुलक तालिम प्रदान गर्ने बताए।

उनको चुनावी नारा ‘हर–हर ठकुराठी, घर–घर ठकुराठी’ छ। आफू अहिले घरदैलो अभियानमा व्यस्त रहेको बताए। ३४ वर्षीय पूर्व सशस्त्र प्रहरीका जवानसमेत रहेका ठकुराठी चुनाव जित्नेमा विश्वस्त छन्।

यसका साथै उनले घोषणापत्रमा समेटिएका विषयहरू आफूले पाँच वर्षमा पूरा गर्ने दाबी गरे। उनी जिल्ला सदरमुकाममा इलेक्ट्रोनिक सामान मर्मतको कामसमेत गर्छन्।

सम्बन्धित पाेष्टहरु
Loading...