डडेल्धुरामा मूख्य निर्वाचन अधिकृतको मनलाग्दी : रातारात कर्मचारीको नाम हटाइयो
निमावि शिक्षक मतदान अधिकृत, ढाकछोप गर्न दर्जामा मावि !
डडेल्धुरा: आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि डडेल्धुरामा मतदान केन्द्र र स्थलमा खटिने कर्मचारीहरूले आपत्ति जनाएका छन्।
कर्मचारीहरूलाई बरियता अनुसार नराखेको र कतिपयको नाम रातारात सूचिबाट हटाइएको भन्दै आपत्ति जनाएका हुन्।
डडेल्धुरामा आजदेखि मतदान अधिकृत र सहायक अधिकृतलाई तालिम दिन शुरु गरिएको छ। कर्मचारीहरुलाई निर्वाचन र मतदान पत्र लगायतका विषयमा दिइन लागेको तालिमका कतिपय अधिकृत र सहायक अधिकृतको नाम रातारात हटाइएको छ।
माथिल्लो बरियताका कर्मचारीलाई अधिकृत राख्नु पर्ने भएपनि तल्लो बरियताको कर्मचारीलाई अधिकृत र मल्लो दर्जाका कर्मचारीलाई सहायक अधिकृतमा तोकिएको उनीहरूको गुनासो छ।
डडेल्धुराको आलिताल गाउँपालिका र परशुराम नगरपालिकाबाट जिल्ला सदरमुकाम पुगेका कर्मचारीको नाम सूचीबाट रातारात हटाइएको छ।
‘बुधबार जिल्ला निर्वाचन कार्यालय डडेल्धुराले बिहान १० बजेददेखि तालिममा सहभागी हुने जानकारी गराएको थियो,’ परशुराम नगरपालिका सूचना प्रविधि अधिकृत दिपेन्द्र जोशीले भने, ‘यहाँ पुगेर नामावलीमा नाम हेर्दा छैन्।’
उनले यहाँ आएर अधिकाशं व्यत्तिको नाम हटाएको देख्दा आश्चर्यमा परेको बताए। उनी भन्छन्, ‘नाम हटाएको सूचना हामीलाई समैयमै दिनुपथ्यो। यस्तो कार्य गर्नु आपत्ति जनक विषय हो। यो गलत हो, सरोकारवालाले ध्यान दिनुपर्छ।’
बिहान ५ बजे जोगबुढाबाट डडेल्धुरा पुगेको तर नामावलीमा नाम नै नभएको देख्दा दुखित भएको परशुरामकै इञ्जिनीयर देवराज जोशीले बताए। अस्पतालका कर्मचारीलाई समेत जिल्ला सदरमुकाम बोलाएर नाम हटाइएको उनीहरू बताउँछन्।
मतदान अधिकृत निमावि शिक्षक, ढाकछोप गर्न दर्जामा मावि
मावि शिक्षकलाई मतदान अधिकृत र निमावि शिक्षकलाई सहायक मतदान अधिकृत राख्नु पर्ने भएपनि मूख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुराले आफूखुसी गरेको पाइएको छ।
सिताराम मावि कुरमुले (ग) परशुराम नगरपालिका १० मा मतदान अधिकृतको रूपमा निमावि शिक्षक डम्मबर थ्वाललाई खटाएको छ।
उनी परशुरामकै भूवनेश्वरी मवि परिगाउमा कार्यरत छन्। अरू कर्मचारीको दर्जा दिइए पनि थ्वालको दर्जामा भने मावि शिक्षक लेखेर ढाकछोप गर्न खोजिएको छ।
परशुराम नगरपालिकाको कार्यालयमा कार्यरत महेशप्रसाद अवस्थीलाई सहायक मतदान अधिकृत तोकिएको छ। स्थायी कर्मचारी शिक्षकलाई नसमेटी बालविकास केन्द्रमा बालवालिकालाई अध्यापन गराउनेहरूको नाम समावेश गरिएको अमरगढी नगरपालिका–६ स्थित गणेशमान प्राविका शिक्षक टेकराज भट्टले बताए।
यसबारेमा युनिटी खबरले बुझ्न खोज्दा मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिन मानेन्। सहायक अधिकृत पुष्पराज जोशीले बुधबारसम्म नामावली अध्यावधिक हुन नसकेकाले बिहीबार नाम हटाइएको बताएपनि थप जानकारी दिन मानेन्।