डडेल्धुरा आउँदै प्रधानमन्त्री देउवा, दुई चुनावी आमसभालाई सम्बोधन गर्ने
डडेल्धुराः नेपाली कांग्रेसका केन्द्रीय सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा गृहजिल्ला डडेल्धुराको चुनावी आमसभालाई सम्बोधन गर्न आउने भएका छन्। प्रधानमन्त्री देउवाले मंगलबार डडेल्धुराका दुई चुनावी आमसभालाई सम्बोधन गर्ने नेपाली कांग्रेस, डडेल्धुराले जनाएको छ।
उनले मंगलबार बिहान जिल्ला सदरमुकामको बसपार्कमा आयोजना हुने चुनावी आमसभा र दिउँसो भित्रीमधेसको परशुराम नगरपालिकाको लालढुङ्गा बजारको सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको कांग्रेस डडेल्धुराका सचिव शेरबहादुर भण्डारीले जानकारी दिए। देउवा सोमबार साँझ डडेल्धुरा आइपुग्नेछन्।
प्रधानमन्त्री देउवासँग कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका केन्द्रीय नेताहरूले पनि आमसभालाई सम्बोधन गर्ने सचिव भण्डारीले जानकारी दिए।
प्रधानमन्त्री देउवा दोस्रोपटक गृहजिल्ला आउन लागेका हुन्। यसअघि उनी गत कात्तिकमा सुदूरपश्चिममा बाढीपहिरो गएका बेला डडेल्धुरा आएका थिए।