Radio Unity 92.2MHz

कर्ण मल्लमाथि खनिए देउवा, भने–ओलीको चाकडी गर्न थल्यो

डडेल्धुराः नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा हालै कांग्रेसबाट निष्कासनमा परेका नेता कर्णबहादुर मल्लमाथि खानिएका छन्। सोमबार गृहपालिकाको गन्यापधुरा–२ बडालमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले मल्लप्रति आक्रोश व्यक्त गरेका हुन्।

मल्लले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको चाकरी गरेको आरोप सभापति देउवाले लगाएका छन्। देउवाले आफूपछि नेता बनाउँला भनेको व्यक्ति ओलीको चाकडीमा लागेको र त्यसप्रति आफूलाई लाज लागेको टिप्पणी गरे।

मल्लले डडेल्धुरामा एमालेसँग तालमेल गरेर एमाले ओलीको चाकरी गर्न थालेको देउवाको भनाइ छ। उनले भने, ‘भोलिका दिनमा अगाडि बढाउँला। म पछिको नेता बनाउँला भन्या त ओलीको चाकरी गर्न थाल्यो।’

नेपाली कांग्रेसले हालै मल्ललाई पार्टीको विधानविपरीत कार्य गरेको भन्दै सदस्यसमेत नरहने गरी हटाइएको थियो। डडेल्धुरामा मल्ल समूह नेपाली कांग्रेस बिपीमा प्रवेश गर्दै एमालेसँग चुनावी तालमेल गरेको छ। एमाले र कांग्रेस बिपीले तालमेल गर्दै जिल्लाका सातै स्थानीय तहमा उम्मेदवारलाई मैदानमा उतारेको छ।

देउवा र मल्लको गृह पालिका एकै गन्यापधुरा हो। गन्यापधुरामा एमालेसँग तालमेल गर्दै मल्ल समूहले अध्यक्ष लिएको छ। कांग्रेस बीपी डडेल्धुरामा देउवाका लागि टाउको दुखाइको विषय बनेको छ।

सम्बन्धित पाेष्टहरु
Loading...