Radio Unity 92.2MHz

प्रधानमन्त्री देउवा गृहजिल्ला डडेल्धुरा आइपुग्दा…(फोटो फिचर)

डडेल्धुरा: नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्लामा कांग्रेसले शक्ति प्रदर्शन गरेको छ। अमरगढीमा देउवाको उपस्थितिमा कांग्रेसले गाउँ–गाउँबाट कार्यकर्ता गाडीमा ल्याएर शक्ति प्रदर्शन गरेको हो।

देउवा डडेल्धुरा सदरमुकाम अमरगढीमा आयोजित चुनावी सभामा सहभागी भए। देउवालाई गृहजिल्लामा बाजागाजासहित स्वागत गरिएको थियो। कांग्रेस डडेल्धुराका पूर्वसभापति कर्णबहादुर मल्ल एमालेसँग मिलेर चुनावी मैदानमा उत्रिएपछि आफ्नो प्रतिष्ठा बचाउन देउवा गृहजिल्लामा खटिएका हुन्। डडेल्धुरा सातै तहमा एमाले र नेपाली कांग्रेस बीपीको चुनावी तालमेल छ।

बसपार्कको चुनावी सभामा भने देउवाले मल्लको नामसमेत उच्चारण गरेनन्। उनले आश्वासन मात्रै बाँडे। उनले डडेल्धुरालाई सुदूरपश्चिमको राजधानी बनाउन सकिने भन्दै भोट मागे। डडेल्धुरामा संरचना नहुँदा राजधानी बनाउने भनेर दिएको बाचा पूरा गर्न नसकेको उल्लेख गर्दै उनले अब डडेल्धुरालाई राजधानी बनाउने तर्क गरे।

देउवाले ७ सय ५० मेघावाट क्षमताको जलाशययुक्त पश्चिम सेती जलविद्युत् परियोजनाका लागि भारतसँग कुरा भइरहेको बताए। उनले पश्चिम सेती निर्माणका लागि छिट्टै भारतसँग सम्झौता हुने पनि बताए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी आएका बेला सम्भव भएसम्म सम्झौता पत्रमा हस्ताक्षर हुने उनको दाबी छ।

उनले कांग्रेसका सबै उम्मेदवारलाई जिताउन आग्रह गरे। कांग्रेसलाई स्थानीय तहमा जिताए आफूलाई काम गर्न सहज हुने उल्लेख गर्दै प्रधानमन्त्री देउवा बागबजार क्षेत्रको सडक चौडा पार्ने, बसपार्क निर्माण गर्ने, मेडिकल कलेज स्थापना गर्ने, प्राविधिक कलेज सञ्चालन गर्ने, एयरपोर्ट निर्माणलगायतका सबै काम चाँडै गर्ने आवश्वास दिए।

 

 

सम्बन्धित पाेष्टहरु
Loading...