डडेल्धुरामा निर्वाचनको तयारी अन्तिम चरणमा
डडेल्धुरा: वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि डडेल्धुरामा तयारी अन्तिम चरणमा पुगेको छ । जिल्लामा रहेका सबै मतदान केन्द्रमा आवश्यक तयारी पुरा भएको छ ।
निर्वाचनमा खटिएका सम्पूर्ण कर्मचारी नियुक्ति पत्र लिएर मतदान स्थलमा पुगिसकेका छन् । मतदान स्थलमा पुगेका कर्मचारीहरुले आयोगको निर्देशन अनुसारका सबै कामहरु पुरा गरेको र मतदान केन्द्र (बुथ) निर्माणको कामसमेत अन्तिम चरणमा पुगेको छ ।
डडेल्धुरा जिल्लाभरीमा ८० मतदान स्थलमा १ सय २६ वटा मतदान केन्द्र तोकिएका छन् भने मतदान केन्द्र (बुथ) निर्माणको काम अन्तिम चरणमा पुगेको छ । कर्मचारीहरु बुथमा पुगेपछि मतदान स्थल निर्माण, परिचयपत्र वितरण र मतदाता शिक्षा दिईरहेका महेन्द्र मावि खलंगा मतदान केन्द्रका मतदान अधिकृत चन्द्रबहादुर पालले बताएका छन् ।
जिल्लामा रहेका ८० मतदान स्थलमध्ये २१ अति संवेदनशील मतदान स्थल, ४० संवेदनशील र १९ सामान्य रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । भौगोलिक कठिनाई तथा सुरक्षाका कारण मतदान स्थालहरुको वर्गिकरण गरिएको छ । त्यसैमाथी बदलिदो मौसमका कारण डडेल्धुराका मतदान स्थलहरु संवेदनशील भएका छन् ।
अमरगढी नगरपालिका–४ को टुँडिखेल मदतान केन्द्र, अमरगढी १ को खानेपानी टंकी स्याउले मतदान केन्द्र र परशुराम नगरपालिका–६ को कुणा मतदान केन्द्र खुला आकाश मुनी रहेका छन् । मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने अनुमान गरेको कारण भवन नभएको कारण टुँडिखेल मदतान केन्द्रमा टेन्टको व्यवस्था गरिएको मतदान अधिकृत माधव जोशीले बताएका छन् ।
डडेल्धुरामा कूल ९० हजार १ सय १९ मतदाता रहेका छन् मतदाताको संख्याअनुसार मतदान केन्द्र र मतदानस्थल पनि निर्धारण गरिएको छ । १ सय २६ मतदान केन्द्रमध्ये तिन केन्द्र भने भवन रहित रहेका छन् ।
डडेल्धुरा जिल्लाका सात वटा स्थानीय तहमा साना/ठूला गरि ११ वटा दलका प्रतिनिधि सहित स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । निर्वाचन सम्पन्न गराउनका लागि ९ सय ९९ जना कर्मचारीहरू खटिएको मूख्य निर्वाचन अधिकृत हरिप्रसाद शर्मा उपाध्याय पंगिनीले जानकारी दिएका छन् ।