डडेल्धुरामा काँग्रेस चार र माओवादी दुई स्थानीय तहको प्रमुखमा विजयी
डडेल्धुराः सात वटा स्थानीय तह रहेको डडेल्धुराको ६ वटा स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ।
६ वटा स्थानीय तहको मत परिणाम सार्वजनिक हुँदा नेपाली काँग्रेसले चार र माओवादीले दुई स्थानीय तहमा जित हात पारेको छ।
एक स्थानीय तहको अन्तिम परिणाम आउन बाँकी छ। परशुराम नगरपालिकाको अन्तिम मत परिणाम आउन बाँकी रहेको छ।
अमरगढी नगरपालिका
अमरगढी नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ। नेपाली काँग्रेस विपी र नेकपा एमालेको गठबन्धनका उम्मेदवारलाई हराउँदै नगरप्रमुखमा डिल्लीराज जोशी र उपप्रमुखमा पार्वती झुकाल विजयी भएका हुन्।
काँग्रेस विपी र एमालेका गठबन्धनका उम्मेदवार हरि भट्टलाई हराउँदै प्रमुखमा जोशी र गठबन्धनकै उम्मेदवार यज्ञराज अवस्थीलाई हराउँदै झुकाल निर्वाचित भइन्।प्रमुखमा निर्वाचित जोशीले ३६१९ मत ल्याए।
उनका प्रतिद्वन्दी भट्टले ३४२६ मत पाए। नेकपा एकीकृत समाजवादीकि संगिता भण्डारीले ७६७ मत ल्याइन्। वउपाध्यक्षमा विजयी झुकालले ३६७८ मत ल्याएर विजयी भइन्। उनकी प्रतिद्वन्दी यज्ञराज अवस्थीले ३०८५ मत पाए।
अजयमेरु गाउँपालिका
अजयमेरु गाउँपालिकाको अध्यक्षमा र नेकपा (माओवादी केन्द्र) र उपाध्यक्षमा नेपाली काँग्रेस विजयी भएको छ। अध्यक्षमा माओवादी केन्द्रका उमेशप्रसाद भट्ट र उपाध्यक्षमा नेपाली काँग्रेसकी बसन्ती पाल निर्वाचित भएका हुन्।
नेकपा एमालेका उम्मेदवार पदम पाललाई हराउँदै माओवादी केन्द्रका भट्ट र माओवादी केन्द्रकी उम्मेदवार कलावती भाणलाई पछि पार्दै काँग्रेसकी पाल विजयी भइन्।
अध्यक्षमा निर्वाचित भट्टले २४६९ मत ल्याए। उनका प्रतिद्वन्द्वी २२९७ पालले मत पाए। यी दुईबीचको मतान्तर १७२ रहेको छ।
यस्तै, नेपाली काँग्रेसबाट अध्यक्ष पदका उम्मेदवार टेकराज पाण्डेयले १९८१ मत पाए। उपाध्यक्षमा काँग्रेसकी पालले २५६५ मत ल्याइन् भने उनकी प्रतिद्वन्द्वी माओवादी केन्द्रकी भाणले २३०९ मत पाइन्। यी दुईबीचको मतान्तर २५६ रहेको छ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा पनि माओवादी केन्द्रका भट्ट नै विजयी भएका थिए। यहाँ विपी काँग्रेस र एमालेको गठबन्धन छ।
नवदुर्गा गाउँपालिका
नवदुर्गा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेस विजयी भएको छ। नेकपा एकीकृत समाजवादीका उम्मेदवारलाई हराउँदै अध्यक्षमा लक्ष्मीप्रसाद अवस्थी र उपाध्यक्षमा निर्मला बिष्ट (बोगटी) विजयी भएका हुन्।
नेकपा एकीकृत समाजवादीका कविन्द्र बिष्टलाई हराउँदै अध्यक्षमा अवस्थी र उपाध्यक्षमा समाजवादीकि चन्द्रा रूपालीलाई हराउँदै बिष्ट विजयी भइन्। अध्यक्षमा निर्वाचित अवस्थीले २८७९ मत ल्याए। उनका प्रतिद्वन्दी बिष्टले २६०६ मत पाए।
उपाध्यक्षमा विजयी बिष्टले ३२०८ मत ल्याएर विजयी भइन्। उनकी प्रतिद्वन्दी चन्द्रा रूपालीले २३६७ मत पाइन्।
आलिताल गाउँपालिका
आलिताल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ। कांग्रेसका उम्मेदवारलाई हराउँदै अध्यक्ष शेरसिंह पार्की र उपाध्यक्षमा मैनाकुमारी रावल बोहरा निर्वाचित भएका हुन्।
कांग्रेसका बलबहादुर गुरुङलाई हराउँदै अध्यक्षमा पार्की र कांगेसकै जलाकुमारी विष्ट (बोगटी)लाई पछि पार्दै मैना उपाध्यक्षमा विजयी भइन्। अध्यक्षमा निर्वाचित पार्कीले २३ सय ८९ मत ल्याए। उनका प्रतिद्वन्द्वी गुरुङले २२ सय २४ मत पाए। पार्कीले गुरुङलाई १ सय ६५ मत बढी ल्याएर हराएका हुन्।
उपाध्यक्षमा विजयी रावलले २६ सय २ मत प्राप्त गरिन्। कांग्रेसकी बोगटीले २२ सय ४१ मत ल्याइन्। यी दुईबीचको मतान्तर ३ सय ६१ रह्यो।
यस्तै, एमालेबाट अध्यक्ष पदका उम्मेदवार मीनबहादुर बोगटीले १४५९, नेकपा एकीकृत समाजवादीका तुलाराम बोहराले ६०१, स्वतन्त्र उम्मेदवार टेकबहादुर खड्काले २५७ र राप्रपाका जितबहादुर थापामगर ३४ मत ल्याए।
गन्यापधुरा गाउँपालिका
गन्यापधुरा गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवार अध्यक्ष र उपाध्यक्ष पदमा अन्त्यधिक बहुमतले निर्वाचित भएका छन्।
काँग्रेसबाट अध्यक्षका उम्मेदवार ईन्द्रबहादुर कार्कीले ३१८४मत प्राप्त गरी विजयी भए। उपाध्यक्षका उम्मेदवार ज्ञानु सेटीले ३०१३ मत प्राप्त गरी निर्वाचित भइन्।
अध्यक्षका अर्का उम्मेदवार काँग्रेस बिपीका सुरेन्द्र बहादुर मालीले १६०५ मत मात्रै प्राप्त गरे भने नेकपा एमालेका इन्द्र महराले १७०३ मत मात्रै प्राप्त गरे।
गन्यापधुरामा नेकपा एमाले र विपी कांग्रेसले गठबन्धन गरी चुनाव लडेका थिए। गाउँपालिकामा जम्मा ७ हजार मत खसेको उनले बताए।
भागेश्वर गाउँपालिका
डडेल्धुराको भागेश्वर गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ। काँग्रेसका हेमराज चटौत २३११ मतसहित पालिका अध्यक्षमा विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामबहादुर शाहीले १०७८ मत ल्याए।
यस्तै उपाध्यक्षमा काँग्रेसकै पुष्पा ठकुराठी निर्वाचित भएकी छिन्। उनले २३४८ मत प्राप्त गरेकी छन्। उनकी प्रतिस्पर्धी माओवादी केन्द्रकी गीता भट्टले ८३२ मत मात्र पाइन्।
परशुराम नगरपालिका
परशुराम नगरपालिकामा मत गणना कार्य जारी छ।