Radio Unity 92.2MHz

निवर्तमान मेयर ओझाको सम्पति : ४ ठाउँमा घरेडीदेखि तुफानडाँडामा दुईतले घर

डडेल्धुराः डडेल्धुराको अमरगढी नगरपालिकाका निवर्तमान नगरप्रमुख विश्वेश्वरप्रसाद ओझाले बिदाई हुनै लाग्दा आफ्नो सम्पति विवरण सार्वजनिक गरेका छन्।

आज (बिहीबार) दिउँसो अमरगढी नगरपालिकाको कार्यालयमा पत्रकार सम्मेलन गरेर ओझाले पद्भार ग्रहण गर्दै गर्दाका बखतको र हालको सम्पति विवरण सार्वजनिक गरेका हुन्। डडेलधुराका बैंक तथा वित्तीय संस्थामा करिब ४३ लाख लोनमा रहेका ओझाको व्यापारिक तथा व्यक्तिगत सापटि वाफत १६ लाख ऋण रहेको देखिएको छ भने उनीसँग ८ तोला सुन र ५ तोला चाँदी रहेको पनि उल्लेख गरिएको छ।

त्यस्तै, डडेल्धुरामा तीन ठाँउमा घरेडी र गोदाबरी नगरपालिकाको अत्तरिया चेतना टोलमा घडेरी रहेको उल्लेख गर्दै ओझाले २०६३ सालदेखि २०७१ सालमा खरिद बताए। पैत्रिक सम्पति सयौं रोपनी जमिन रहेतापनि ओझाले यसपूर्व नै अंश नलिने घोषणा गरिसकेका छन्।

हाल डडेल्धुराको तुफानडाँडामा दुईतले घर करिब २१ लाखको लागतमा निर्माण गरेको ओझाले बताए। बागबजार डडेल्धुरामा इलेक्ट्रोनिक पसल रहेको बताए।

जनप्रतिनिधिमा कार्यकाल सकिनै लाग्दा पत्रकार सम्मेलन गरेर सम्पति विवरण सार्वजनिक गर्ने ओझा पहिलो हुन्। साथै निवर्तमान प्रमुख ओझाले आफूले ५ वर्षे अवधिमा गरेका आफ्नो कार्य प्रगति विवरण सार्वजनिक गरेका छन्। पाँचवर्षे कार्यकाल अवधिमा गरेका सम्पूर्ण कार्य प्रगतीहरु पनि सार्वजनिक गरेका हुन्।

नगरपालिकाले पाँचवर्षे अवधिमा ‘शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार, अमरगढी स्मार्टसिटि निर्माणको आधार’ भन्ने नारा दिएर विभिन्न कार्यहरू गरेको निर्वतमान नगर प्रमुख ओझाले बताए।

नगरपालिकामा दीर्घकालीन नगर विकास गुरुयोजना निर्माण, भौतिक पूर्वाधार सडक पूर्वाधार निर्माण, भवन तथा सहरी विकास, खेलकुद तथा खेल पूर्वाधार, सिँचाई, शिक्षा क्षेत्रमा सुधारका प्रयास, स्वास्थ्य क्षेत्र सुधार, सेफ हाउस, विद्यालय नसिंङ कार्यक्रम, अमरगढी बहुप्राविधिक शिक्षालय स्थापना, सुरक्षित नागरिक आवास कार्यक्रम, जनता आवास कार्यक्रम, झोलुङ्गे पुल, मोटरेवल पुल निर्माण, उद्योग तथा रोजगार, प्रधानमन्त्री स्वरोजगार कार्यक्रम, उद्योगग्राम स्थापना तथा कृषि तथा पशुपंक्षी विकासलगायतका अन्य महत्वपूर्ण कार्यहरू गरेको उनले बताए।

उनले आफ्नो पाँचवर्षे कार्यकालमा धेरै कामहरूको सुरुवात भएको बताए। उनले नयाँ नेतृत्वले पुराना तथा अधुरा कामहरूलाई पूरा गर्दै अगाडि बढ्नेमा विश्वास व्यक्त गरे।

१२÷१५ वटा बहुवर्षीय प्रोजेक्ट रहेको उल्लेख गर्दै ओझाले केहीका टेण्डर भएर कामसमेत सुरुवात भइसकेको जानकारी गराए। उनले अहिले सडक, खानेपानी, सिँचाइ, विद्यालयका भवन, कम्पाउण्ड वाल निर्माणलगायतका कामहरू भइरहेको दाबी गरे।

ओझाले आफू नगरपालिकाबाट बाहिरिएपनि सधैं यस नगरको विकासमा सहयोग बन्ने प्रतिबद्धतासमेत व्यक्त गरे। हालै सम्पन्न स्थानीय तह निर्वाचनअन्तर्गत ११ वडा रहेको अमरगढी नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। नगरप्रमुखमा डिल्लीराज जोशी र उपप्रमुखमा पार्वती झुकाल निर्वाचित भएका छन्।

अघिल्लो चुनावमा अमरगढीमा ५ वडा मात्रै जितेको कांग्रेसले १० वडामा विजय हात पारेको छ । अघिल्लो चुनावमा अमरगढीका प्रमुख र उपप्रमुखसहित ६ वडाअध्यक्ष जितेको एमाले अहिले शून्यमा झरेको छ।

सम्बन्धित पाेष्टहरु
Loading...