परशुरामका मेयर र उपमेयरको कर्मचारीलाई निर्देशन–जनमुखी रूपमा सेवा प्रवाह गर्नू
डडेल्धुराः डडेल्धुराको परशुराम नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख भरत वडायर जोशीले नवनिर्वाचित जनप्रतिनिधिहरूलाई शपथ ग्रहण गराएका छन्।
शुक्रबार जोशीले नवनिर्वाचित नगरउपप्रुमख विमलाकुमारी बोहरा, १२ वटै वडाका अध्यक्ष र वडा सदस्यहरुलाई शपथ ग्रहण गराएका हुन्।
नगरप्रमुख जोशी र उपप्रमुख बोहराले आफ्नो पदभार ग्रहण गरेका छन्। दुवैले समग्र नगरपालिकाको विकासका लागि सदैव अहोरात्र जनसेवामा लागिरहने प्रतिबद्धता व्यक्त गरेका छन्।
साथै नगरप्रमुख जोशी र नगर उप्रमुख बोहराले नगरपालिकामा कार्यरत कर्मचारीहरूलाई कानुन बमोजिम, सावर्जनिक सेवा जनमुखी रूपमा प्रवाह गर्न निर्देशनसमेत दिएका छन्।
नगरप्रमुख भरत वडायरको अध्यक्षतामा पहिलो कार्यकालका जनप्रतिनिधिहरूको बिदाईसमेत गरिएको छ। निवर्तमान नगरप्रमुख भीमबहादुर साउँद दोसल्ला ओढाई सम्मान पत्र प्रदान गरिएको छ।
कार्यक्रममा निवर्तमान नगरप्रमुख साउँदले आफ्नो कार्यकाल समापन भएपनि आफू सदैव यस नगरपालिकाको विकास र समृद्धिका लागि साथमा रहने प्रतिबद्धता जनाएका छन्। यसका साथै उनले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवादसमेत दिएका छन्।
उक्त अवसरमा नगरप्रमुख जोशीले निवर्तमान नगरप्रमुख साउँदको कार्यकालको उच्च प्रशंसा गर्दै सदैव नगरपालिकालाई उनको अभिभावकत्वको आवश्कता रहेको जनाए। कार्यक्रममा विभिन्न राजनीतिकक दलका प्रमुखहरूले मन्तव्य राखेका थिए।
परशुराममा कांग्रेसबाट जोशी मेयरमा र माओवादी केन्द्रबाट बोहरा उपमेयरमा विजयी भएका हुन्। १२ वडा रहेको नगरपालिकामा ७ वडा माओवादी र ५ वडा कांग्रेसले जितेको छ। यहाँ एमाले भने शून्य छ।