पाटनका उपप्रमुख बोहराद्वारा काठको कुर्चीबाटै जनतालाई सेवा !
डडेल्धुराः बैतडीको पाटन नगरपालिकाका उपप्रमुख कमलसिंह बोहराले काठको कुर्चीबाटै जनतालाई सेवा दिने भएका छन्। शनिबार पदभार ग्रहण गर्दै उनले फेन्सी कुर्चीमा नबस्ने बताउँदै काठकै कुर्चीबाट सेवा दिने जनाएका हुन्।
जनताको सेवामा काठकै कुर्चीबाट कटिबद्ध भएर काम गर्ने बोहराको भनाइ छ। उनले जनताले विश्वास गरेर जिताएको र त्यो विश्वास टुट्न नदिने प्रतिबद्धता व्यक्त गरे।
हालै सकिएको स्थानीय तह निर्वाचनअन्तर्गत पाटनमा सत्तारुढ गठबन्धनका उम्मेदवार निर्वाचित भएका थिए। नगरप्रमुख पदमा नेपाली कांग्रेसका गौरीसिंह रावल ६ हजार ८६९ मत ल्याइ निर्वाचित भएका थिए। रावलले नेकपा एमालेका उम्मेदवार नारायण भण्डारीलाई १ हजार ५७९ मत अन्तरले पराजित गरेका थिए।
भण्डारीले ५ हजार २९०मत ल्याएका थिए। उपप्रमुखमा माओवादी केन्द्रका बोहरा ५ हजार ७५१ मतसहित निर्वाचित भएका थिए।
एमालेका उम्मेदवार हरु भट्टले ५ हजार ४२७ मत ल्याएका थिए। पाटनमा कांग्रेस र माओवादीको गठबन्धन थियो भने एमाले एक्लै प्रतिस्पर्धामा थियो।
१० वडा रहेको पाटनमा एमालेले ४, माओवादी र कांग्रेसले ३–३ वडा जितेका छन्। यो प्रतिनिधिसभा सदस्य एवं नेकपा एमालेका सुदूरपश्चि प्रदेश कमिटी अध्यक्ष दामोदर भण्डारीको गृह पालिका हो।