Radio Unity 92.2MHz

आलु खेतीमा नयाँ क्रान्ति ल्याएका जोशीलाई ३० किलोको मालासहित अभिनन्दन (फोटो फिचर)

डडेल्धुराः प्रधानमन्त्री आधुनिकीकरण परियोजना ईकाई डडेल्धुराका कार्यालय प्रमुख खेमराज जोशीलाई अभिनन्दन गरिएको छ।

यहाँका किसानहरूले आइतबार विगत ५ वर्षदेखि आलु सुपरजोनको क्षेत्रमा काम गर्दै आएका वरिष्ठ कृषि अधिकृत जोशीलाई ३० किलोको माला, अविर, बाजागजासहित जिल्ला सदरमुकामको बागबजार परिक्रमा गराइ अभिनन्दन गरेका हुन्।

कृषि क्षेत्रमा अतुलनीय योगदान गरेको भन्दै डडेल्धुराका किसानहरूले जोशीलाई सम्मान कार्यक्रमको आयोजनामार्फत् अभिनन्दन गरे। जोशी कार्यालय प्रमुख भएयता डडेल्धुराको आलु खेतीमा नयाँ आयाम आएको छ।

आलु सुपरजोनमार्फत् प्रविधि प्रर्दशन, मल्चिङ प्रविधिबाट आलुखेती सुरु, व्यवसायीक आलु खेतीमा किसानहरूलाई अभिप्ररित गर्नुका साथै आलु खेतीका रूपमा जिल्लाको अमरगढी– १ भेटा, गन्यापधुरा गाउँपालिका–१ भातकाडा, अजयमेरु गाउँपालिकाका विभिन्न वडाहरूलगायत नवदुर्गा गाउँपालिकामासमेत बृहत् आलु खेती तर्फ किसानहरू व्यवसायिक बनेका छन्।

अमरगढी नगरपालिका – १ को ठूलखालीमा करिब ८० रोपनी क्षेत्रफलमा व्यवसायिक रूपमा करिब १ सय ५० क्विन्टलभन्दा बढी आलु वर्षेनि उत्पादन हुने गरेको किसान दत्तराज अवस्थीले जानकारी दिए।

उनले भने, ‘जोशी सरको सहयोगमा जिल्लामा नै आलुको मुल बीउ उत्पादन, प्रशोधन प्रविधि भित्रिएको छ। उहाँले डडेल्धुराको आलु क्षेत्रमा क्रान्ति नै ल्याउनुभएको छ।’

करडौंको लगानीमा निर्माण गरिएको उग्रतारा शित भण्डारमा अहिले आलुको बीउ राख्ने किसानको संख्यामा बृद्धि भएको उग्रतारा शित भण्डारका संचालक लालमणी पन्तले बताए।

आलु सुपरजोनमार्फत् किसानहरूले आलु उत्पादन बढाएपछि शित भण्डारमा क्षमताभन्दा बढी आलु भण्डारणका लागि आउने गरेको पन्तले बताए। डडेल्धुरा जिल्लाको आलु खेतीमा नयाँ क्रान्ति ल्याएकाले जोशीलाई फुलमाला र बाजागाजासहित सम्मान गरिएको अगुवा किसान पदम ऐर बताए।

जोशीले उत्प्रेरण दिएपछि हाल आफ्नो श्रमबाहेक ३० लाख रूपयाँ लगानी गरेर सुरु गरेको आलु खेतीबाट उत्पादन सुरु भएको तीन महिनामै लगानी उठाउन सफल भएको उनले बताए।

जोशीको सम्मानले आगामी कार्यालय प्रमुखलाई पनि किसानको पक्षमा काम गर्दा सम्मान पाउने सकारात्मक सन्देश गएको उग्रतारा शित भण्डारका अध्यक्ष भोजराज भट्टले बताए। छोटो समयमा कृषि उत्पादनका साथसाथै जिल्लाका विभिन्न ठाँउमा बाजो रहेको ३ सय हेक्टर जमिनमा आलु खेती गराउन सफल भएका जोशीलाई किसानहरूले खुसी भएर नै सम्मान गरेको भट्टले बताए।

नवदुर्गा गाउँपालिकाका उपाध्यक्ष निर्मला बागटीले असल कर्मचारीको बिदाईले जिल्लाका किसानहरूलाई घाटा रहेको बताइन्। किसानहरूको असल अभिभावकको संज्ञा दिँदै उपाध्यक्ष बोगटीले भनिन्, ‘हिजो पाँच किलो आलु रोप्ने किसान अहिले ५ क्विन्टल आलु रोपेर आलुखेती गर्दै आउनु भएको छ। आलु उत्पादन हिजोभन्दा तेब्बरले वृद्धि भएको छ, यसको बजारिकरण र व्यवस्थापनको जिम्मा अब पालिकाले लिन्छ।’

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना आलु सुपरजोन डडेल्धुराका प्रमुख जोशीकाअनुसार चालुवर्षमा आलु खेती गर्ने किसानहरूको संख्या विगतभन्दा तेब्बरले वृद्धि भएको छ।

डडेल्धुराबाट बिदाई भएसँगै जोशी अध्ययनका लागि दुई वर्ष अष्ट्रेलिया जाने कार्यक्रम तय भएको छ। डडेल्धुरामा सरकारी कर्माचारीलाई यसरी अभिनन्दनसहित बिदाइ गरिएको यो पहिलो हो।

सम्बन्धित पाेष्टहरु
Loading...