बेपत्ता जहाज भेटिएको छैन : नेपाल नागरिक उड्डयन प्राधिकरण
काठमाडौं: नेपाल नागरिक उड्डयन प्राधिकरणले मौसम प्रतिकूलताको कारण सम्पर्कविहीन बनेको जहाज खोज्न नसकिएको बताएको छ।
प्राधिकरणका अनुसार विमानको अवस्थाको बारेमा खोजतलासका लागि फिस्टेल एयरको हेलिकोप्टरलाई त्यसतर्फ पठाइएकोमा प्रतिकूल मौसमको कारणले उक्त हेलिकप्टर पुनः जोमसोम नै फर्किएको जानकारी दिएको छ।
काठमाडौं, पोखरा तथा जोमसोम विमानस्थलमा खोज तथा उद्धार कार्यको लागि थप हेलिकप्टरहरु स्ट्यान्डबाई रुपमा रहेकोले मौसममा सुधार आउनासाथ हवाइमार्गबाट खोज कार्य पुनः सुरु गरिने खोज तथा उद्धार समन्वय केन्द्रले उल्लेख गरेको छ।
प्राधिकरणले जेठ १५ गते पोखराबाट स्थानीय समयअनुसार बिहान ०९ः५५ बजे जोमसोमको लागि १९ जना यात्रु र ३ जना चालक दलका सदस्यसहित उडेको तारा एयर प्रालिको ट्विन अटर (एनइएटी) विमान अन्तिम पटक जोमसोम टावरसँग १०ः०७ बजे घोडेपानी भन्ने स्थानमा सम्पर्कमा आएको र सोपश्चात् उक्त विमान सम्पर्कविहीन भएको थियो।
स्थलमार्गबाट खोजी कार्य गर्न नेपाली सेना र नेपाल प्रहरी समेत त्यसतर्फ प्रस्थान गरिसकेको प्राधिकरणअन्तर्गतको खोज तथा उद्धार केन्द्रले जानकारी दिएको छ।