Radio Unity 92.2MHz

डडेल्धुरामा दिवा खाजा कार्यक्रम प्रभावकारी बन्दै

डडेल्धुरा: डडेल्धुरामा सरकारले सामुदायिक विद्यालयमा विद्यार्थी टिकाउनका लागि सुरु गरेको विद्यालय दिवा खाजा कार्यक्रम प्रभावकारी बन्दै गएको छ।

कार्यक्रम शुरु भएको छोटो अवधिमा नै दिवा खाजाले विद्यार्थी आकर्षित गर्न सफल भएको हो।

विद्यालयमा नियमित दिवा खाजा दिन थालिएपछि विद्यार्थीको संख्या बढ्नुका साथै विद्यार्थी समेत नियमित रूपमा विद्यालयमा आउन थालेको छन्।

डडेल्धुराको अमरगढी नगरपालिका–५ खलंगास्थित महेन्द्र माध्यमिक विद्यालयमा पढ्न आउने विद्यार्थीको आर्कषण बढ्दै र बीचमै पढाई छाड्ने प्रवृत्तिको अन्त्य भएको शिक्षक तथा दिवा खाजा कार्यक्रमका संयोजक रमेश ऐरले बताए।

उनले सरकारले लागू गरेको दिवा खाजा कार्यक्रम राम्रो भएको र हरेक वर्ष विद्यार्थीको संख्या पनि बढिरहेको बताए।

शिक्षक रमेश ऐर, महेन्द्र माध्यमिक विद्यालय

उनी भन्छन्, ‘विद्यालयले बारअनुसार चना, अण्डा, खीर, हलुवा, जाउलोजस्ता खाजा खुवाउँछ। दिवा खाजाले विद्यार्थी संख्या बढाउनमा सहयोग गरेको छ। दिवा खाजालाई व्यवस्थित गरेपछि अभिभावकले पनि यहाँ विद्यार्थी पढ्न पठाउने गरेका छन्।’

सरकारले बालविकासदेखि ५ कक्षासम्मका बालबालिकालाई लक्षित गरी दिवा खाजा कार्यक्रम लागू गरेसँगै विद्यार्थीले विद्यालयमै खाजा खान पाउन थालेका हुन्।

२०७८ भन्दा २०७९ मा महेन्द्र माध्यमिक विद्यालयमा विद्यार्थीको संख्या बढेको तथ्याङ्क

यहाँका अधिकांश विद्यालयले खाजाका लागि क्यान्टिनलाई जिम्मा दिएका छन्।

पौष्टिक आहार र स्थानीय परिकार उनीहरुको प्राथमिकता परेको छ। बजारमा पाइने जंकफुडभन्दा पनि चना, अण्डा, तरकारी, पाउरोटी, दूधजस्ता खानेकुरामा विशेष जोड गरिएको विद्यालयहरूको भनाइ छ।

दिवा खाजा कार्यक्रमले खाजामा एकरुपता ल्याएको र अभिभावकलाई पनि सहज भएको अभिभावकहरू बताउँछन्।

सम्बन्धित पाेष्टहरु
Loading...