डडेल्धुरा: डडेल्धुरामा हाइसबाट हाम फाल्दा ९ जना घाइते भएका छन्। जिल्लाको अमरगढी नगरपालिका–११ स्थित रडुवाभन्दा अगाडि हाइसबाट हाम फाल्दा ९ जना घाइते भएका हुन्।
हाइसमा १९ जना सवार रहेको र ९ जनाले हाम फालेको डडेल्धुराका प्रहरी नायब उपरीक्षक (डीएसपी) देवेन्द्र पालले बताए।
उनका अनुसार धनगढीबाट डोटी तिर जाँदै गरेको सुपप्र ०१००१ ख ३१०९ नम्बरको हाइसको ब्रेक फेल भएर नरोकिएपछि हाइसमा सवार ९ जना यात्रुले हाम फालेका हुन्।
घाइते ८ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको र एक जनको टाउकोमा गम्भीर चोट लागेका कारण धनगढी रेफर गरिएको डीएसपी पालले बताए।
गम्भीर घाइते भएकी कैलालीको गोदावरी नगरपालिका–८ बस्ने कृष्णा अधिकारीलाई डडेल्धुरा अस्पतालले रेफर गरेको छ। ‘धनगढीबाट डोटीतिर गइरहेको हाइसमा ब्रेक नलागेको रहेछ। ब्रेक फेल भएको हल्ला भएपछि यात्रुहरूले आत्तिएर हाम फालेका रहेछन्। फेरि ब्रेक लागेछ,’ उनले भने, ‘अरू यात्रु र हाइसको अवस्था ठिक छ।’