डडेल्धुरा: डडेल्धुरालाई पूर्ण खोप सुनिश्चितता र दिगोपना जिल्ला घोषणा गरिएको छ । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री गोविन्दराज बोहराको प्रमुख आतिथ्यतामा आइतबार जिल्ला सदरमुकाममा आयोजित कार्यक्रमकाबीच डडेल्धुरालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो ।
मन्त्री बोहराले जिल्लालाई पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा गर्दै जिल्ला खोप जिल्ला समन्वय समितिका संयोजक गगनसिंह भण्डारी र स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख आशुतोष श्रेष्ठलाई प्रमाणपत्र प्रदान गरे ।
जिल्लाका १६ देखि २३ महिनासम्मका २ हजार २४ बालबालिकाले पूर्ण रूपमा खोप पाएपछि डडेल्धुरालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालयका प्रमुख श्रेष्ठले जानकारी दिए । जिल्लाका सात स्थानीय तहमा रहेका खोप पाउने उमेर समूहका बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार खोप पाइसकेका छन् ।
घोषणा कार्यक्रममा मन्त्री बोहराले पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणाका लागि योगदान पुगाउने सबैलाई धन्यवाद ज्ञापन गरे । मन्त्री बोहराले प्रदेशको सामाजिक विकास मन्त्रालयले पनि उपचार सेवामा सबैको पहुँच पुगाउनका लागि निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेको बताए ।
यस्तै पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणापछि पनि त्यसको दिगोपनाका लागि सक्रिय भएर काम गर्न मन्त्री बोहराले स्वास्थ्यकर्मीलाई आग्रह गरे । यसका साथै पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गर्न भूमिका निर्वाह गरेको भन्दै कार्यक्रममा जिल्लाका स्वास्थ्य स्वयंमसेविका, स्वास्थ्यकर्मी र सात वटै पालिकालाई सम्मान पनि गरिएको छ ।
जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्नका लागि सात वटै पालिकालाई पूर्ण खोप सुनिश्चितता गरिएको थियो । पालिकाले पूर्ण खोप सुनिश्चितता घोषणापश्चात् स्वास्थ्य कार्यालयले प्रमाणीकरणका लागि घरधुरी सर्वेक्षण गर्दै १६ देखि २३ महिनासम्मका बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार खोप पाए/नपाएको अनुगमनसमेत गरिएको थियो।
यससँगै डडेल्धुरा पूर्ण खोप सुनिश्चितता घोषणा हुने सुदूरपश्चिमको तेस्रो जिल्ला बनेको छ। यसअघि सुदूरपश्चिमका बैतडी र दार्चुलालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको थियो। सोमबार डोटी र मंगलबार कञ्चनपुर जिल्लालाई पूर्ण खोप सुनिश्चितता घोषणा गर्ने कार्यक्रम रहेको स्वास्थ्य निर्देशनालय सुदूरपश्चिमका निर्देशक डाक्टर जगदीश जोशीले जानकारी दिए।