डडेल्धुरा: नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवासँग विद्रोह गरेका कर्णबहादुर मल्ल नेपाली कांग्रेस बीपी वरिष्ठ उप-सभापति बनेका छन्।
नेपाली कांग्रेस बीपीका प्रवक्ता शिवप्रसाद सिंखडाले विज्ञप्ति जारी गरी नेपाली कांग्रेस डडेल्धुराका उपसभापति करुणाकर भट्ट, तहरीसिह बोहरा केन्द्रीय सदस्य र एमालेसँग तालमेल गरी नेपाली कांग्रेस बीपीबाट अमरगढी नगरपालिकाको मेयरमा पराजित भएका हरिप्रसाद भट्टलाई केन्द्रीय सदस्यको जिम्मेवारी दिइएको बताएका हुन्।
प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुराका कांग्रेसका पूर्व पार्टी सभापति मल्ल पक्षले अधिवेशनको क्रममा जिल्लाबाट पठाइएको क्रियाशील सदस्यताको नाम काटिएपछि अधिवेशन बहिष्कार गरेका थिए।
गत वर्ष भएको कांग्रेसको १४औं महाधिवेशनमा जिल्लाबाट सिफारिस गरिएका क्रियाशील सदस्यमध्ये तीन सय बढी हटाएर केन्द्रबाट नयाँ सदस्य थप गरेको भन्दै मल्ल र उनी पक्षीय बहुमत जिल्ला समितिका पदाधिकारी तथा पालिका समितिका पदाधिकारीले अधिवेशन बहिष्कार गरेका थिए।
क्रियाशील सदस्यताबारेको विवाद समाधान गरेर मात्र अधिवेशन गर्नुपर्ने मागसहित मल्ल र उनी पक्षीय नेताहरूले जिल्लादेखि केन्द्रीय कार्यालयमा धर्ना र अनशन बसेका थिए। तर, मल्ल पक्षको मागलाई वास्ता नगरी देउवाले प्रहरी परिचालन गरी एकलौटी जिल्ला अधिवेशन गराएका थिए।
स्थानीय निर्वाचन २०७९ मा मल्ल समूह नेपाली कांग्रेस बीपी र एमाले तालमेल गरी निर्वाचनमा गएपछि नेपाली कांग्रेसले मल्ललाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट हटाएको थियो।
२०७४ सालको निर्वाचनमा डडेलधुराबाट प्रदेशसभा सदस्य विजयी मल्ललाई नेपाली कांग्रेसले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेपछि उनले प्रदेशसभा सदस्य त्यागेको घोषणा गरेका थिए।
एमालेसँग तालमेल गरी निर्वाचनमा होमिएको नेपाली कांगेस (बीपी)ले दुई स्थानीय तहमा वडाध्यक्ष जितेको छ। नेपाली कांग्रेस (बीपी)बाट अमरगढी नगरपालिका बडा नं ८ को वडाध्यक्षमा नरबहादुर साँकी र गन्यापधुरा गाउँपालिका १ को वडाध्यक्षमा नरेशराज भण्डारी निर्वाचित भएका छन्।
कर्ण मल्ल पक्षले नेपाली कांग्रेसका संस्थापक सभापति बीपी कोइरालाको ४०औँ स्मृति दिवसको अवसरमा डडेल्धुरा जिल्ला कार्य समिति गठन गरेका थिए। जसअनुसार कांग्रेसको बीपीको जिल्ला सभापतिमा भरत नेपाली रहेका छन्।
यस्तै सदस्यहरूमा हरिप्रशाद भट्ट, करुणाकर भट्ट, गोकुल बहादुर शाही, सुरेन्द्र बहादुर माली, तिलक बहादुर हमाल, चक्र बहादुर सावद, पदमा गुरुङ, देपकीदेवी पन्त, पदमबहादुर देउवा, डम्मरी वली र नरबहादुर साँकी चयन भएका थिए। यसअघि जिल्ला सभापतिमा तिलक हमाल थिए।
यस्तै कांग्रेस बीपीले ४ पालिकामा समेत जिम्मेवारी दिएको छ। अमरगढी नगरसभापतिमा मनोरथ खडायत चयन भएका छन्। परशुराम नगर सभापतिमा राजबहादुर भण्डारी, गन्यापधुरा गाउँपालिका सभापतिमा रमेश माली र आलिताल गाउँपालिका सभापतिको जिम्मेवारी दलबहादुर बोहरालाई दिइएको छ।