Radio Unity 92.2MHz

डडेल्धुराका डीएसपी भट्ट भन्छन्– घटना घटेको पाँच मिनेटभित्रै एक्सन लिन्छौं

डडेल्धुराः डडेल्धुराका प्रहरी नायब उपरीक्षक (डीएसपी) मनोहरप्रसाद भट्टले घटना घटेको पाँच मिनेटभित्रै एक्सन लिने बताएका छन्। शक्रुबार जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा आयोजित पत्रकारहरूसँगको परिचयात्मक कार्यक्रममा डीएसपी भट्टले घटना घटेको पाँच मिनेटभित्रै प्रहरीले एक्सन लिने बताएका हुन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीमा कार्यरत डीएसपी भट्ट काज सरुवा भएर डडेल्धुरा आएका हुन्। बिहीबारबाट कार्यभार सम्हालेका डीएसपी भट्टले जिल्लामा हुने अपराधिक घटना न्यूनीकरणमा आफूले ध्यान दिने बताए।

जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा कार्यरत डीएसपी देवेन्द्र पालको एसपीमा बढुवा भएपछि भट्ट यहाँ आएका हुन्। भट्टसँग जिल्ला प्रहरी कार्यालय दार्चुला, वडा प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय टीकापुरमा नेतृत्व सम्हालेको अनुभव छ।

उनले आफूसँग भएको अनुभवलाई प्रयोग गरेर यहाँका नागरिकलाई शान्तिसुरक्षा प्रदान गर्ने दाबी गरे। उनले जिल्लामा हुने जुवातास नियन्त्रणमा पनि सूचना पाउनेबित्तिकै एक्सन लिने उनको दाबी छ। ट्राफिक व्यवस्थापन तथा सडक दुर्घटना न्यूनीकरण गर्नतर्फ पनि काम गर्ने उनको भनाइ छ।

प्रहरी कार्यालयमा आउने सेवाग्राहीहरुलाई प्रदान गरिने सेवा प्रवाहमा समानता र सेवाग्राही मैत्री व्यवहार कायम गर्न आफूले प्रहरी कर्मचारी र अधिकारीहरूलाई निर्देशन दिइसकेको डीएसपी भट्टले बताए।

परशुराम नगरपालिका–८ को आधारभूत स्वास्थ्य केन्द्र जमरानीमा कार्यरत अस्मितादेवी धामी मृत्यु प्रकरणबारे पनि आफूले अनुसन्धान थाल्ने उनको भनाइ छ । उनले अहिले आफूले उक्त घटनाको बारेमा बुझिरहेको जानकारी दिए।

गत वर्षको असार २ गते स्वास्थ्य सामग्री पुर्‍याउन जोगबुडा अस्पताल जाने क्रममा बेपत्ता भएकी धामीको केहीदिनपछि स्थानीय हट्वानी सामुदायिक वनमा शव फेला परेको थियो। उनको अनुहारमा नीलडाम र टाउकोमा घाउ देखिएकाले हत्याको आशंका गरिएको थियो। तर, अहिलेसम्म प्रहरीले दोषी पत्ता लगाउन सकेको छैन।

आफू केही गर्नका लागि यहाँ आएको उल्लेख गर्दै डीएसपी भट्टले सबैलाई साथ र सहयोग गर्न आग्रह गरे। उनले नजितामा देखिने गरी आफ्नो कार्यकालमा काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।

जिल्लास्थित पत्रकारहरूले समाजमा शान्तिसुरक्षा कायम गर्न प्रहरीको भूमिका महत्वपूर्ण हुने भएकाले त्यसतर्फ ध्यान दिन सुझाएका थिए। पत्रकारहरूले जुवातास, ट्राफिक व्यवस्थापन, मोटरसाइकल चोरी, हत्याहिंसा, बलात्कार, लागूऔषध, चोरी तस्करीलगायतका घटना घट्ने हुँदा यिनीहरूको न्यूनीकरणमा ध्यान दिन डीएसपी भट्टलाई आग्रह गरेका थिए।

सामाजमा हुने अपराधिक क्रियाकलाप न्यूनीकरण गर्नमा प्रहरीलाई पत्रकारहरू पनि सहयोग र सहकार्य गर्न तयार रहेको नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाका अध्यक्ष हिक्मतबहादुर सिहंले बताए।

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।