Radio Unity 92.2MHz

डडेल्धुरामा ५ दिने निःशुल्क शल्यक्रिया शिविर शुरु

डडेल्धुरा: डडेल्धुरा जिल्ला सदरमुकाममा रहेको डडेल्धुरा अस्पतालमा पाँच दिने निःशुल्क शल्यक्रिया शिविर शुरु भएको छ । सुष्मा मेमोरियल अस्पताल काठमाडौंको प्राविधिक सहयोग, रुडुक डडेल्धुराको समन्वय र डडेल्धुरा अस्पतालको आयोजनामा पाँच दिने निःशुल्क शिविर सञ्चालन भएको हो।

मंगलबार बिहान सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री गोविन्दराज बोहराले शिविरको उद्धघाटन गरेका छन्। शिविरको उद्घाटन गर्दै मन्त्री बोहराले आगोले पोलेका, जलन भएका, ओठ र तालु फाटेका र दुर्घटनमा परी गम्भीर घाइते भएकाको उपचारका लागि डडेल्धुरामा बर्न र ट्रमा सेन्टर स्थापना गर्न आवयश्क रहेकोमा जोड दिए। त्यसका लागि आफूले पहल गरिरहेको समेत उनले जानकारी दिए।

सुदूरपश्चिमका नौं वटै जिल्लाका बिरामीलाई पायक पर्ने गरी डडेल्धुरा अस्पतालमा शिविरको आयोजना गरिएको सुष्मा कोइराला मेमोरियल अस्पतालका मेडिकल निर्देशक सन्तोषविक्रम भण्डारीले जानकारी दिए।

२१ गतेसम्म सञ्चालन हुने निःशुल्क शिविरमा विभिन्न प्रकारका शारिरिक समस्या भएका व्यक्तिहरुको विशेषज्ञ चिकित्सकद्वारा निःशुल्क स्वास्थ्य परीक्षणसँगै शल्यक्रिया गरिँदै छ। शिविरमा आगोले पोलेर शरीरको कुनै भाग खुम्चिएको वा चलाउन नमिल्ने भएको, अंगभंग भएको, आगोले पोलेर कपाल गुमाएका बिरामीहरु, जन्मजात हातगोडाको औंलाहरू टाँसिएको, बाङ्गिएको, हात गोडामा जन्मजात पाँचभन्दा बढी औंलाहरू टाँसिएको, जन्मजात ओठ तथा तालु फाटेको बिरामीहरूको स्वास्थ्य अवस्था परीक्षण गरिने छ।

त्यस्तै, मांसपेशी खुम्चिएर शरिरको कुनै भाग चलाउन नमिल्ने, विस्फोटनमा परी शरीरको कुनै भागको शल्यक्रिया गराउनुपर्ने अवस्था भएको, हातगोडा काटिएको ठाउँमा पाकेर नचल्लने भएका बिरामीको पनि शिविरमा निःशुल्क उपचार हुनेछ।

कान तथा नाक चिरिएको बिरामी, शरीरमा मुसा, कोठी, दाग तथा गाठाहरुको शल्यक्रिया गर्नुपर्ने तथा क्यान्सरसम्बन्धी बिरामी, हर्निया, हाइड्रोसिलका बिरामी तथा मेरुदण्ड भाँचिएर प्यारालाइसिस भएका बिरामीको पनि उपचार गरिने डडेल्धुरा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट चेतराज भट्टले जानकारी दिए। शिविरमा सेवा लिनेहरूको भीड नै लागेको छ।

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।