डडेल्धुरा: डडेल्धुराको आलिताल गाउँपालिका–३ मा रहेको आलिताल तालबाट माछा चोरी हुन थालेका छन्। संरक्षित क्षेत्र आलिताल परिसरबाट रातिको समयमा माछा चोरी निकासी भइरहेको वडा नम्बर ३ को कार्यालयले जनाएको छ।
ताल परिसरबाट माछा र माछाका भुरासमेत चोरी हुन थालेपछि वडा कार्यालयले भुरा चोर्नलाई जरिवान गर्ने भएको छ। एक सूचना जारी गर्दै कार्यालयले पहिलोपटक माछा मारेर चोरी गरिरहेको भेटिए ५ हजार र दोस्रो पटक पनि भेटिए १० हजार जरिवाना गर्ने जनाएको हो।
यदि तेस्रो पटक पनि माछा चोरी गरेको भेटिए कानुनअनुसार कारबाहीका साथै वडा कार्यालयबाट प्रदान हुने सबै किसिमको सेवासुविधा बन्द गर्ने निर्णय भएको वडाध्यक्ष बलबहादुर बुढा मगरले जानकारी दिए।
‘आलिताल परिसरमा वडा कार्यालयको विगतका विकास बजेटबाट माछाका भुरा हालेर संरक्षण गरिरहेको छौं,’ उनले भने, ‘त्यस क्षेत्रमा संरक्षित माछा रातिको समयमा निकासी भइरहेको चौकीदारले लिखित र मौखिक दिएपछि हामीले जरिवाना निर्णय गरेका हौं।’
तालमा माछा मारिरहेको प्रमाणसहित कारबाहीका लागि सहयोग गर्ने व्यक्तिलाई वडा कार्यालयले नगद पुरस्कार पनि दिने वडाध्यक्ष बुढाले बताए। आलिताल सुदूपश्चिम प्रदेशको पहाडी जिल्लामा रहेको सबैभन्दा ठूलो ताल हो।
समुद्री सतहबाट करिब ८ सय मिटर उचाइमा महाभारत पर्वत शृंखलाको फेदमा रहेको ताललाई व्यवस्थित गर्न सके पर्यटकहरूको संख्या बढाउन सकिन्छ ।
एक हजार १ सय ७५ मिटर लम्बाइ तथा करिब ४ सय मिटर चौडाइ रहेको ताललाई चुरेका डाँडाले घेरेको छ। यस तालको परिपरी सुन्दर हरियाली वनले ढाकेको छ। डडेल्धुरा जिल्ला सदरमुकामबाट यो तालसम्म पुग्न गाडीमा करिब तीनदेखि चार घण्टा लाग्छ।
वडा कार्यालयले जारी गरेको सूचना :