Radio Unity 92.2MHz

डडेल्धुरामा चुनावी गठबन्धन : खगराजलाई ‘मुख्यमन्त्री’ बनाउने सहमति !

काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवाको क्षेत्रमासमेत गठबन्धन हुने भएको छ। प्रधानमन्त्री देउवा निर्वाचित डडेल्धुराबाट यसपटक माओवादी केन्द्रले उम्मेदवारी नदिने सहमति भइसकेको छ।

देउवासंग तीन पटक (०६४, ०७० र ०७४) मा लगातार पराजित भएको माओवादी केन्द्रका स्थायी समिति सदस्यसमेत रहेका सुदुरपश्चिमइन्चार्ज खगराज भट्ट यसपटक प्रदेशमा चुनाव उठ्ने भएका छन्।

यसअघि ०६४ मा थोरै मतले पराजित भएका भट्ट त्यसपछिका चुनावमा भने फराकिलो मतान्तरले पराजित भए। माओवादीमा भट्ट भन्दा जुनियरले धेरै लाभको पद हासिल गरेपनि अहिलेसम्म उनले भने कुनै सार्वजनिक पद पाएका छैनन्। उनकी पत्नी मन्जु बम अन्तरिम विद्यायक र भाइ उमेशप्रसाद भट्ट ‘विकास’ भने गाउँपालिका अध्यक्ष बनेका थिए। शहीद परिवारका सदस्यसमेत रहेका नेता भट्ट चुनावमा देउवासँग तीन पटक पराजित भएपछि यसपटक प्रदेशको मुख्यमन्त्री नै बन्ने तयारीमा छन्।

सुरुमा प्रतिनिधिसभाको तयारी गरेका भट्ट संघीय सांसद बने पनि माओवादी अध्यक्ष पुष्पकमल दाहालकी बुहारी विना मगर नै मन्त्रीबन्ने अवस्था हुने भएकाले उनी प्रदेशमा झरेको निकट स्रोत बताउँछ। अहिले सुदूरपश्चिममा मगर र भट्टका अलगअलग गुट सक्रिय छन्।

माओवादी केन्द्रमा लेखराज भट्टपछि वरियतामा दोस्रो नम्बरमा रहेका उनले वाम गठबन्धन हुँदा समेत देउवासँग ६ हजार ९ सय ४८ मतले हारेका थिए। ०७४ को चुनावमा देउवाले २८ हजार ४४६ र भट्टले २१ हजार ४९८ मत ल्याएका थिए। माओवादी केन्द्रको समर्थनमा यसपटक देउवा प्रधानमन्त्री बन्ने छन्। देउवा र भट्टबीच यसपटक भागवण्डा भइसकेको स्रोत बताउँछ।

प्रधानमन्त्रीले उनलाई सुदुरपश्चिमको मुख्यमन्त्री बनाउने बचन दिइसकेका छन्। भट्टले आफू डडेल्धुराको प्रदेश ‘क’बाट निर्वाचनमा उम्मेदवार बन्ने बताए। उनले त्यसका लागि प्रधानमन्त्रीसँग समेत छलफल भइसकेको जानकारी दिए।

डडेल्धुराको प्रदेश ‘क’ बाट निर्वाचित एमालेका पठानसिंह बोहरा अहिले प्रदेशको सांसद छन्। उनी यसअघि भौतिकमन्त्रीसमेत बनेका थिए। प्रदेशसभामा बाम गठबन्धनका उम्मेदवार बोहराले १३ हजार ५६३ र कांग्रेसका उम्मेदवार रघुवर भट्टले ११ हजार ३९४ मत ल्याएका थिए। मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा गठबन्धनमा आवद्ध दलहरुबीच तालमेल गर्ने निर्णय भइसकेको छ।

लेखराज भट्ट एमालेमा प्रवेश गरेसँगै माओवादीको सुदूरपश्चिमको शीर्ष नेता बनेका भट्टलाई व्यवस्थापन गर्न केन्द्रीय नेतृत्वलेसमेत प्राथमिकतामा राखेको छ।

डडेल्धुरामा स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस पहिलो र माओवादी केन्द्र दोस्रो स्थानमा छ। २ नगरपालिका र ५ गाउँपालिका रहेको डडेल्धुरामा ७ स्थानीय तह छन्। त्यसमध्ये कांग्रेस एक्लैले ५ र २ स्थानीय तह माओवादीले जितेको छ। विपि कांग्रेसका नेता कर्णबहादुर मल्लसंग एमालेले तालमेल गरेको भएपनि वडा बाहेक यसपटक एमालेको अवस्था कमजोर बनेको छ। स्थानीय तहको निर्वाचनमा एमालेले सात वटा स्थानीय तहमध्ये एक स्थानीय तहका पनि जित निकाल्न सकेन।

डडेल्धुरामा देउवाका लागि मल्ल चुनौतीका रूपमा देखा परेका छन्। तर, माओवादी केन्द्रका सहयोगपछि भने उनको अवस्था बलियो भएको छ। भट्ट कञ्चनपुर २ मा चुनाव लड्ने चर्चा चलेपनि अन्तिममा उनी प्रदेशमै लड्ने भएका हुन्।

भट्टले आफू मुख्यमन्त्री बन्नकै लागि प्रदेशमै उम्मेदवार बन्ने बताए। भट्टले उठने भनिएको कञ्चनपुर २ मा कांग्रेसका प्रभावशाली नेता एनपी साउँद उम्मेदवार रहेकाले उनको सम्भावना कमजोर भएको हो। अब मंसिर ४ गते हुने प्रदेशसभाको निर्वाचन अन्तर्ग भट्ट डडेल्लधुराको क्षेत्र नम्बर ‘क’ बाट उठ्ने भएका छन्।

डडेल्धुराको क्षेत्र नं. क अन्तर्गत एक नगरपालिका र दुई गाउँपालिका रहेका छन्। जस अनुसार परशुराम नगरपालिका, आलिताल गाउँपालिका र भागेश्वर गाउँपालिका पर्दछन्। गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचन अन्तर्गत परशुराम नगरपालिकाको नगरप्रमुखमा नेपाली कांग्रेसका भरत बडायर जोशी र नगर उपप्रमुखमा माओवादी की विमला महता निर्वाचित भए। त्यस्तै आलिताल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएको थियो।

कांग्रेसका उम्मेदवारलाई हराउँदै अध्यक्ष शेरसिंह पार्की र उपाध्यक्षमा मैनाकुमारी रावल बोहरा निर्वाचित भएका थिए। त्यस्तै भागेश्वर गाउँपालिकाको अध्यक्षमा कांग्रेसका हेमराज चटौत र उपाध्यक्षमा पनि काँग्रेसकै पुष्पा ठकुराठी निर्वाचित भएकी छन्। प्रदेशसभाको निर्वाचनमा भट्टलाई नेपाली कांग्रेसले सहयोग गर्ने भएकाले उनको जित पक्का पक्की नै भएको छ। –काठमाण्डुपाटी

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।