Radio Unity 92.2MHz

डडेल्धुरा अस्पतालबाट एकवर्षमा ३४ हजारले लिए ओपिडी सेवा

डडेल्धुराः संघीय सरकार मातहत रहेको डडेल्धुरा अस्पतालबाट एकवर्षमा ३४ हजार बढी ओपिडी सेवा लिएका छन्। गत आर्थिक वर्ष २०७८/०७९ मा अस्पतालबाट ३४ हजार ६ सय ६ जनाले बहिरंग सेवा लिएका हुन्।

यस अवधिमा ३१ हजार १६ जना बिरामीले प्रयोगशाला सेवा लिएको अस्पतालले जनाएको छ। १९ हजार २ सय ४७ जनाले एक्सरे सेवा लिएको शनिबार आयोजित वार्षिक समीक्षा कार्यक्रममा अस्पतालका सूचना अधिकारी टंकप्रसाद पन्तले जानकारी गराएका हुन्।

‘७ हजार ३ सय ७१ ज्ना बिरामीले आकस्मिक सेवा लिनुभएको छ, उनले भने, ‘९ हजार ९ सय ३६ जनाले यूएसजी सेवा, २ हजार ४९ जानले दन्त सेवा, १ हजार ४ सय ७४ जनाले प्रसूति सेवा लिँदा १ हजार ४ सय २१ ज्नाले फिजियोथेरापी, ९ सय २० जनाले मेजर शल्यक्रिया सेवा अस्पतालबाट पाउनुभएको छ।’

वार्षिक समीक्षा कार्यक्रममा अस्पतालको गत आर्थिक वर्षको बजेट परिचालन विवरण पनि सार्वजनिक गरिएको छ। गत आर्थिक वर्षमा चालु अनुदान १८ करोड ७४ लाख ८३ हजार, पुँजीगत अनुदान ५ करोड २९ लाख १५ हजार र अस्पताल विकास समिति आय ७ करोड ३५ लाख १ हजार ६ सय ४४ रहेको सूचना अधिकारी पन्तले जानकारी दिए।

अस्पतालमा दरबन्दीअनुसारका कर्मचारीहरू अझैं पदपुर्ति हुन सकेका छैनन्। १०९ जनाको स्विकृत दरबन्दी रहेको अस्पतालमा हाल ४६ जना मात्रै कार्यरत रहेको सूचना अधिकारी पन्तले जानकारी दिए। २०७० सालमा टिम अस्पताल र जिल्ला अस्पताल मिलाएर उपक्षेत्रीय अस्पताल घोषणा गरिएको यस अस्पताललाई ०७५ सालमा फेरि नाम परिवर्तन गर्दै संघीय सरकारले डडेल्धुरा अस्पताल राखेको थियो।

प्रदेशमा संघीय सरकारको मातहतमा रहेको एकमात्र अस्पताल १०० शैय्यामा मात्रै छन्। अस्पतालले १४ वटा विभाग कायम गरी त्यस अनुरूप सेवा प्रदान गरिरहेको छ। दरबन्दी अनुसार कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या भइरहेको वरिष्ठ अस्पताल नर्सिङ प्रशासक हिरा निरौलाले बताइन्।

अस्पतालको सेवा सुविधालाई विस्तार गर्न र विशिष्ट विशेषज्ञ अस्पतालको रूपमा स्थापित गर्न संघीय सरकारले पाँच शैय्याको अस्प्तालको रूपमा विकास गर्ने अवधारणा अगाडि सारेको छ। जनअपेक्षा अनुसार गुणस्तरीय सेवा प्रवाहसहित निरन्तरता कायम राख्न, जनशक्तिलाई टिकाइ राख्न, सेवाग्राही र सरोकारवालाहरूसँग सन्तुलित व्यवहार र सन्तुष्टि प्रदान गर्नु अस्पतालका चुनौतीहरू रहेको निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.चेतराज भट्टले बताए।

सम्बन्धित पाेष्टहरु
Loading...