Radio Unity 92.2MHz

देउवासँगै चुनाव लड्ने मन छ तर…

डडेल्धुराः आगामी मंसिर चारमा सरकारले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको घोषणा गरिसकेको छ। निर्वाचन लक्षित गरेर विभिन्न राजनीतिक दलले तयारी पनि थालिसकेका छन्। सरकारमा रहेका दलहरूले गठबन्धन बनाएर जाने भन्दै कार्यदल समेत बनाइसकेको छ।

गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनका दलहरूका आ–आफ्नै दाबीका कारण प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्लामा चुनावी गठबन्धन हुन सकेको थिएन्। आसन्न निर्वाचनमा डडेल्धुरामा गठबन्धन होला कि नहोला भनेर आम मानिसले चासोका साथ हेरेका छन्।

देउवासँगै पटक–पटक उम्मेदवारी दिएर पराजीत भएका माओवादी केन्द्रका स्थायी समिति सदस्यसमेत रहेका सुदूरपश्चिम इन्चार्ज खगराज भट्टले गठबन्धन भए यसपटक देउवाको लागि डडेल्धुरा छोड्लान अर्थात अन्य ठाउँबाट उम्मेदवारी देलान् त? सर्वत्र चासोका साथ हेरिएको छ। प्रस्तुत छ, माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज खगराज भट्टसँग युनिटी खबरकर्मी शेर भण्डारीले गरेको कुराकानीको सम्पादित अंशः

आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको लागि माओवादी केन्द्रको सुदूरपश्चिममा रणनिती के छ?
अहिले हामीले शान्ति, लोकतन्त्र र नागरिक सर्वोच्चोतालाई स्थापित गर्नका निमित्त गठबन्धन निर्माण गरिरहेका छौं। अहिले कुनै पार्टी विशेषको तयारीभन्दा पनि गठबन्धनको तयारीमा हामी केन्द्रित छौं। गठबन्धले सबै कुरा टुङ्ग्यायो भने त्यसपछि नै पार्टीको तयारी अगाढी बढ्छ।

गठबन्धन गर्ने भएपछि सुदूरपश्चिममा तपाईंको पार्टीको कुनकुन क्षेत्रमा दाबी रहन्छ?
अब, हाम्रो पार्टीले आफ्नो मत राख्दै आएको छ। हामी प्रदेश र प्रतिनिधि सभाको विषयमा गृहकार्य मैछौं। अहिले हामीले यो चाहियो उ चाहियो भनेर भनेका छैनौं। पहिले हामी भागबण्डा गछौं। माओवादीले कति पाउने, काँग्रेसले कति पाउने, अन्य दलले कति पाउने अनि हामीले देशभरीमै कति पाउने भन्ने टुङ्ग्याएपछि प्रदेश अन्र्तगत सम्बन्धित प्रदेशमा कुन पार्टीले कति लिने भन्ने कुरा आउँछ।

गत सम्पन्न स्थानीय तहको निर्वाचनमा डडेल्धुरामा गठबन्धन हुन सकेन्। यसपटक डडेल्धुरामा कत्तिको सम्भव छ गठबन्धन?
हामीले स्थानीय तहमा गठबन्धनको अभ्यास इतिहासमा सम्भवत् पहिलो पटक ग¥यौं। नेपालको इतिहासमा स्थानीयमा कुनै ठाउँ विशेष क्षेत्र विशेष गठबन्धन त हुँदै आएको थियो। राष्ट्रिय रूपमै गठबन्धनमा जानेकुरा पहिलो पटक थियो।

त्यो गठबन्धन एक दुई दलबीचको गठबन्धन नभएर धेरै दलको सामूहिक गठबन्धन थियो। सामूहिक गठबन्धन त्यो पनि स्थानीय तहमा बनाउने कुरा ‘भ्यागुताको धार्नी जोख्ने’ भन्दा पनि जटिल कुरा थियो। तर, संघ र प्रदेशमा माथि उक्लिदै जाँदा एकातिर हामीसँग स्थानीय चुनावमा भएका कमी कमजोरी समस्याहरूको अध्ययन र अनुभव पनि छ।

अर्कोतिर संघीय चुनावमा विगतका दिनमा थुप्रै ठाउँमा हामीले गरेका गठबन्धनका अनुभव र अनुभुतिहरू छन्। गठबन्धनको सफलता र सार्थकतालाई सिद्ध गर्ने दायित्व पनि छ त्यो हिसाबले हेर्दा प्रधानमन्त्रीको गृहजिल्लामा गठबन्धन सफल भएन, प्रचण्डको गृजिल्लामा गठबन्धन सफल भएन भने गठबन्धन माथि प्रश्न उठ्ने कुरा त भइहाल्छ। त्यसो भएर प्रधानमन्त्रीको अत्यन्त सकारात्मक बुझाइ भएकोले डडेल्धुरामा संघ र प्रदेशको चुनावमा समस्या रहित ढंगले गठबन्धन हुन्छ।

यश पटक डडेल्धुराबाट तपाईंको उम्मेदवारी हुन्छ कि हुँदैन्?
गठबन्धनको सहयात्री भइसकेपछि डडेल्धुरामा काँग्रेस माओवादीको एउटै सिटमा दुईवटा उम्मेदवारी हुँदैन्। गठबन्धनका कारण एक अर्काविरुद्ध त्यो भित्रका दलको उम्मेदवारी हुँदैन्। बरू हामी एक अर्कोलाई जिताउन लाग्छौं।

डडेल्धुरामा शेरबहादुर देउवा जीले नै दाबी गर्ने परिस्थिति भयो भने उहाँ पार्टीको सभापति त्यसैमा बहालबाला प्रधानमन्त्री र राष्ट्रिय नेता भएकोले डडेल्धुरामा गठबन्धनको कुन भाग लिने भनेर चयन गर्ने अधिकार प्रधानमन्त्री ज्यूको रहन्छ।

त्यसो भए तपाईंको उम्मेदवारी के हुन्छ?
अहिले हामीले केही पनि निश्चित गरेका छैनौं। पहिलो कुरा माओवादी पार्टीको भाग कुन कुन क्षेत्र पर्दछ भन्नेबाट हेरौ, हामी। भागबण्डा गर्दा प्रदेशको मूख्यमन्त्री, प्रदेशको भागबण्डा कसरी लागू हुन्छ, प्रदेशमा कुन चाँही दलले नेतृत्व पाउँने भन्ने कुरा पनि सँगसँगै हुन्छ। त्यसो हुँदा प्रदेशको नेतृत्व संघको सिट कसले कहाँ पाउँछ भन्ने आधारमा नै मेरो क्षेत्र निर्धारण हुन्छ।

डडेल्धुरा सकभर नछोडौं भन्ने मनस्थिति छ, मेरो। किनकि डडेल्धुराका जनताले पूरै रिजेक्ट पनि गरेको होइन मलाई। म हारे त्यो पनि सत्य हो। तर, मलाई २०औं हजार मानिसले विस्वास गरको कुरा अर्को सत्य हो।

त्यसैले ति मानिसहरूको भावनामा चोट पु¥याउने काम मैले नगर्ने भन्ने नै छ सकभर। तर गठबन्धन हो मलाई डडेल्धुराभन्दा बाहिर आवश्यकता देखेर जानू पर्छ भन्यो भने हिजो जसरी मलाई मेरो पार्टीले शेरबहादुर देउवासँग चुनवा लड्ने आदेश दियो मैले इमान्दार सिपाहीका रूपमा चुनाव लडे। त्यसैगरि गठबन्धनले तपाईं यहाँ उभिनुस् भन्ने कुरा ग¥यो भने म त्यहाँ उभिन्छु। तर, अहिले टुङ्ग्यायको केही छैन्।

कञ्चनपुर क्षेत्र नम्बर दुईबाट तपाईं उठ्ने चर्चा पनि छ नि?
सिनियर नेताको हकमा मान्छेहरूले अनुमान र विश्लेषण गर्ने गरेका छन्। डडेल्धुरा देउवाले पाउने भएपछि कञ्चनपुर क्षेत्र नम्बर २ मा खगराज भट्टको घर पनि छ, त्यहाँ राम्रो खालको जनमत पनि छ, त्यो भएर उता जाने त होला? भनेर अनुमानका भरमा भनिएको हो। तर, मैले कहिँ कतै पनि दुई नम्बर चाहिँयो भनेर भनेको छैन्।

अन्तमा, देउवाले सुदूरपश्चिमको मुख्यमन्त्री बनाउने आश्वासन दिएर डडेल्धुराको क्षेत्र नम्बर ‘क’ बाट उठाउने चर्चा पनि छ? प्रष्ट पार्दिनुस् न
विभिन्न विषयमा विभिन्न कोणबाट बहस तथा छलफल हुन्छन्। त्यो विषयमा पनि छलफल भएको सत्य हो। तर, निष्कर्षमा पुगिएको छैन्।

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।