डडेल्धुरा: डडेल्धुरा बहुमुखी क्याम्पसका विभिन्न समस्याका बारेमा छलफल गरिएको छ। सोमबार जिल्लामा क्रियाशील विद्यार्थी संगठनहरूले समस्याका बारेमा क्याम्पस प्रशासन र विद्यार्थीहरूसँग छलफल गरेका हुन्।
डडेल्धुरामा क्याम्पस प्रशासनका समस्या, विगतमा क्याम्पसमा तोडफोड भएका भौतिक संरचनाका समस्या, पुस्तकालयमा पाठ्यपुस्तकका समस्या, खानेपानीको समस्या, विद्यार्थीहरूले अध्ययनको शिलशिलामा भोगिरहेका विविध समस्या र शिक्षामा गुणस्तरलगायत अन्य विविध समसामयिक विषयमा छलफल संयुक्त गरिएको नेविसंघ (बीपी) डडेल्धुराका अध्यक्ष मदनबहादुर बोहराले जानकारी दिए।
उनका अनुसार विद्यार्थीहरूले पुस्तकालयबाट पाठ्यपुस्तक १/२ वटा मात्र पाएको गुनासो गरेका छन्।पैसा पूरै पुस्तक पाउने गरी तिरेको तर पुस्तकालयबाट १/२ वटा मात्रै मिल्ने गरेको विद्याथीहरूले गुनासो गरेको बोहराले बताए।
कक्षा कोठामा बेन्च डेस्क नहुँदा कुर्सीमा बस्नुपर्ने बाध्यता पनि रहेको विद्यार्थीहरूले गुनासो पोखेका छन्। आर्थिक अवस्था नाजुक हुँदा व्यवस्थापन पर्न कठिनाइ भइरहेको क्याम्पसले जनाएको छ। छलफलमा अखिल क्रान्तिकारी, नेविसंघ डडेल्धुरा, नेविसंघ (बिपी), अनेरास्ववियु, अखिल छैटौंलगायतका नेताहरूको उपस्थिति रहेको थियो।