Radio Unity 92.2MHz

डडेल्धुराको अजयमेरु गाउँपालिकामा जग्गा नापी सुरु

डडेल्धुरा: डडेल्धुराको अजयमेरु गाउँपालिकामा जग्गा नापी सुरु भएको छ। भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा प्रदान गर्नका लागि शनिबारदेखि जग्गा नापी सुरु भएको हो। अजयमेरु–१ बयलडाँडाका स्थानीय देवराज भट्टको जग्गाबाट गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्ट ‘विकास’ ले नापी कार्यको उद्धाटन गरेका हुन्।

भूमि आयोगसँग सम्झौता भएपछि केही ढिलो गरी नापीको काम सुरु भएको उल्लेख गर्दै अध्यक्ष भट्टले तर नापीको काम सम्पन्न गर्नेमा जिल्लामै पहिलो बन्ने दाबी गरे। भूमि आयोग डडेल्धुराले खटाएको नापी टोलीलाई सहयोग गर्न जनप्रतिनिधि सक्रिय हुने अध्यक्ष भट्टले बताए। भूमिहीन र अव्यवस्थित बसोबासीको व्यवस्थापनमा गाउँपालिका कटिबद्ध रहेको उनको भनाइ छ।

राष्ट्रिय भूमि आयोग जिल्ला समिति डडेल्धुराका अध्यक्ष शेरबहादुर भण्डारीले वडा नम्बर १ मा जग्गा नापीको काम सम्पन्न भएपछि अन्य वडामा पनि सुरु हुने बताए। अजयमेरु गाउँपालिका–१ का अध्यक्ष दत्तीसिंह भण्डारीले नापी टोलीलाई सहज वातावरणमा नाप नक्साको काम गर्नका लागि सबै क्षेत्रबाट सहयोग हुने आश्वासन दिए।

जिल्लाका परशुराम नगरपालिका, गन्यापधुरा र आलिताल गाउँपालिकामा लगत संकलन गरी नाप जाँचको कार्य यसअघि नै सुरु भइसकेको छ। चार पालिकामा ६ हजार ८८६ भूमिहीन र अव्यवस्थित बसोबासीले निवेदन दिए। गन्यापधुरा गाउँपालिकामा ७४ भूमिहीन दलित, १८ भूमिहीन सुकुम्बासी र ९६१ अव्यवस्थित बसोबासीले निवेदन दिए।

आलिताल गाउँपालिकामा २७ भूमिहीन दलित, ४५ भूमिहीन सुकुम्बासी र एक हजार ६ सय ७२ अव्यवस्थित बसोबासीले निवेदन दिएको भूमी आयोग डडेल्धुराले जनाएको छ। अजयमेरु गाउँपालिकामा ९ भूमिहीन दलित, २ भूमिहीन सुकुम्बासी र २ सय ८२ अव्यवस्थित बसोबासीले निवेदन दिएका छन्। यस्तै परशुराम नगरपालिकामा १ सय ८८ जना भूमिहीन दलित र भूमिहीन सुकुम्बासी तथा ३ हजार ६ सय ८ अव्यवस्थित बसोबासीले निवेदन दिएको जनाइएको छ।

सम्बन्धित पाेष्टहरु
Loading...