Radio Unity 92.2MHz

चाडपर्व नजिकिएसँगै डडेल्धुरामा बढ्यो चहलपहल

उपभोक्ता भन्छन् : भाउ बढ्यो

डडेल्धुराः तीज–गौराजस्ता चाडपर्व नजिकिएसँगै डडेल्धुरा बजारमा किनमेल गर्नेको चाप बढेको छ। सात पहाडी जिल्लाको केन्द्रमा रहेको डडेल्धुरा सदरमुकाममा एकातिर चहलपहल बढेको हो।

चाडपर्व सुरू भएसँगै बजारमा पनि चहलपहल बढेको डडेल्धुरा सदरमुकाममा व्यपार गर्दै आएकी लक्ष्मी बोहराले बताइन्। उनी भन्छिन्, ‘व्यपार राम्रो छ। राम्रै आम्दानी भइरहेको छ।’

भारी बोक्नेदेखि व्यापारीसम्म सबैलाई चाडपर्वका बेला भ्याइ–नभ्याइ नै हुन्छ। दुई वर्ष कोरोना महामारीले खुम्चिएको व्यापारलाई तीज र गौरा पर्वले चलायमान बनाइसकेको बोहराको भनाइ छ।

अहिले बजारमा दैनीक उपभोग्य सामग्रीदेखि लत्ता कपडा तथा गरगहना बनाउनेको गुँइचो लागेको छ। सुनचाँदीका पसलमा पनि गर–गहना बनाउनेको भीड लागेको सुनचाँदी व्यवसायी अनिल सुनारले बताए।

‘अहिले गर–गहना बनाउनेको भीड लागेको छ। तर, बजारमा सुनको अभाव रहेको छ। यसमा सरकारले ध्यान दिनुपर्दछ,’ उनले भने।

बजारमा चहलपहल सुरू भएपनि दैनिक उपभोग्य सामग्रीको भाउ आकासिएको उपभोक्ताको गुनासो छ। अहिले बजारमा सुनदेखि नुनसम्मको भाउ बढेको स्थानीय बिस्ना पाण्डेयको भनाइ छ।

‘सामग्री किन्न बजार आएकी हुँ। यहाँ हरेक कुराको भाउ बढेको छ,’ उनले भनिन्, ‘गौरा र तीजसम्म मात्रै हो कि महगींपछि सम्म रहन्छ।’

सम्बन्धित पाेष्टहरु
Loading...