Radio Unity 92.2MHz

आलिताल गाउँपालिकामा लालपूर्जा दिन नाप नक्साको काम सुरु

डडेल्धुरा: डडेल्धुराको आलिताल गाउँपालिकामा लालपूर्जा दिन नाप नक्साको काम सुरु भएको छ।

भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा प्रदान गर्नका लागि बुधबारदेखि नाप नक्साको काम सुरु भएको हो। आलिताल गाउँपालिका–८ को चिरान गाउँबाट गाउँपालिका अध्यक्ष शेरसिंह पार्कीले नाप नक्सा कार्यको उद्धाटन गरेका हुन्।

उद्धाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष पार्की, भूमि आयोग डडेल्धुराका विज्ञ सदस्य ओमप्रकाश साउँद, वडा नम्बर ८ का अध्यक्ष धनबहादुर देउवा, वडा नम्बरका ३ का निवर्तमान वडाध्यक्ष लोकेश महरालगायतको उपस्थिति रहेको थियो।

बुधबारदेखि नाप नक्साको काम सुरु भएको र भूमि आयोग डडेल्धुराले खटाएको नापी टोलीलाई सहयोग गर्न आफूहरू सक्रिय हुने अध्यक्ष पार्कीले बताए। भूमिहीन दलित र अव्यवस्थित बसोबासीको व्यवस्थापनमा गाउँपालिका कटिबद्ध रहेको उनको भनाइ छ।

आलिताल गाउँपालिकामा २७ भूमिहीन दलित, ४५ भूमिहीन सुकुम्बासी र एक हजार ६ सय ७२ अव्यवस्थित बसोबासीले निवेदन दिएको भूमि आयोग डडेल्धुराले जनाएको छ।

सम्बन्धित पाेष्टहरु
Loading...