डडेल्धुराः डडेल्धुराको अजयमेरु गाउँपालिकाले वार्षिक प्रगति ८८ प्रतिशत गरेको छ।
गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ मा वार्षिक प्रगति ८८.२३ प्रतिशत गरेको हो। चलुतर्फ ९०.६८ र पुँजीगतर्फ ८३.६७ प्रतिशत प्रगति भएको गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्ट विकासले जानकारी दिए।
उनका अनुसार आन्तरिक आय लक्ष्यभन्दा २८ बढी संकलन भएको छ। गाउँपालिकाले बधुबार पालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत, प्रप्रअ र विषयगत शाखा र वडा कार्यालयबीच आर्थिक वर्ष २०७९/०८० का लागि कार्य सम्पादन करार सम्झौतासमेत सम्पन्न गरेको छ।
‘यो उपलब्धिको लागि सम्पूर्ण नवनिर्वाचित तथा निवर्तमान जनप्रतिनिधि, राजनीतिक दलसँग आवद्ध साथीहरू, राष्ट्र सेवक कर्मचारी, शिक्षक, सुरक्षाकर्मी, अजयमेरुबासी जनसमुदाय, अजयमेरु गापाका शुभचिन्तक र योगदान पुगाउनुहुने सबैमा धन्यवाद दिन चाहन्छु,’ अध्यक्ष भट्टले भने, ‘साथै गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत, प्रप्रअ र विषयगत शाखा र वडा कार्यालयबीच आव २०७९/०८० को लागि कार्य सम्पादन करार गर्ने कार्य सम्पन्न गरिएको छ।’
कार्यसम्पादन मूल्यांकनमा अजयमेरु गाउँपालिका देशकै पहिलो स्थानमा आएको थियो। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले तयार गरेको कार्यसम्पादन मूल्यांकन प्रतिवेदन अनुसार अजयमेरु सबैभन्दा अगाडि देखिएको थियो। सय अंकभारमा अजयमेरु गाउँपालिकाले ७८.६९ अंक प्राप्त गरेको थियो।