Radio Unity 92.2MHz

गौराको दोस्रो दिन आज महिलाले यसरी धोए ‘बिरुडा’ (फोटोफिचर)

  • शेर भण्डारी

डडेल्धुरा: सुदूरपश्चिम प्रदेशको धार्मिक एवं सांस्कृतिक महत्वको ‘गौरा पर्व’ यहाँका स्थानीयले घुमधामका साथ मनाइरहेका छन्। सुदूरपश्चिमेलीको मुख्य चाड गौरा सुरु भएसँगै गाउँघरमा रौनकता छाएको छ।

सुदूरपश्चिममा मनाइने गौरापर्वको दोस्रो दिन शुक्रबार व्रतालु महिलाले नजिकको धारा, कुवा तथा पानी पधेरोमा ‘बिरुडा’लाई धोएका छन्।

गौरा पर्वको पहिलो दिन बिहीबार महिलाले निराहार रही आ–आफ्नो घरमा तामा वा पित्तलको भाँडोमा पाँच प्रकारका अन्न भिजाएका थिए। पाँच प्रकारका अन्नमा गहुँ, केराउ, गहत, मास र गुरुस पर्दछन्।

यी पाँच अन्नलाई ‘बिरुडा’ भनिन्छ। अघिल्लो दिन भिजाइएका बिरुडालाई नजिकका नदी, तलाउ, धारामा लगेर धुने चलन छ। व्रतालु महिलाहरूले बिहानै नुवाइधुवाइ गरेर नजिकको धारा, तलाउ तथा कुवामा गई गौरादेवीको पूजाआजा गर्ने गरिन्छ।

धान, साउँ, तील, अपामार्ग लगायतका बोटबाट गौराको प्रतिमूर्ति बनाई श्रृंगारपटार गरेर गौराको पूजा गर्ने चलन रहिआएको छ। नजिकको धारा, कुवा तथा तलाउमा प्रतिस्थापन गरिएको गौराको मूर्तिलाई विभिन्न फागसहित बिरुडाले पूजा गर्ने प्रचलन छ।

दोस्रो दिन नदी, तलाउ तथा धारमा मनाइने गौरालाई ‘नानी गौरा’ भनिन्छ। गौराको तेस्रो दिन अमुक्ताभरण र मुख्य दिन दुर्वाष्टमी अर्थात् अठ्यावाली हो।

पौराणिककालमा हिमालयकी छोरी पार्वतीले भगवान् शिवलाई पति पाउनका लागि गरेको कठोर तपस्याको सम्झनामा गौरापर्व मनाइने गरिन्छ।

गौरापर्वमा ब्रतालु तथा श्रद्धालु महिलाद्वारा गौराघरमा गइ गरिने शिव र गौरीको पूजाअर्चनामा बिरुडा नै अक्षता र प्रसादका रुपमा प्रयोग हुन्छ । बिरुडा भिजाएको तेस्रो दिन महिलाहरूले सामूहिक रुपमा धान, साउँ, तील, अपामार्ग आदि बिरुवाका बोटबाट गौराको प्रतिमूर्ति बनाई गौराघरमा भित्रयाउँछन्।

विविध धार्मिक अनुष्ठानका साथ गौरालाई गौराघरमा भित्रयाइ सकेपछि श्रद्धालु महिलाद्वारा शिव र गौरी (गौरा) को पूजाआजा हुन्छ। यसपछि विसर्जन नगरिएसम्म गौराघर नजिकको चौरमा पुरुष तथा महिला छुट्टाछुट्टै रूपमा गोलबद्ध भई स्थानीय लोक भाषामा देउडा, चैत, धमारी आदि खेल खेलेर आनन्द लिन्छन्।

अनुकूल तिथि हेरी विसर्जन गरिने गौरापर्वले मानिसमा धार्मिक–आस्था र आपसी–सद्भाव बढाउन मद्दत पुर्‍याउने मात्र नभई यस पर्वमा व्रत बसी शिव र गौरीको पूजाआजा गर्नाले सुखशान्ति प्राप्त हुने तथा इष्ट–कुलदेवता प्रसन्न हुने जनविश्वास छ।

 

 

सम्बन्धित पाेष्टहरु
Loading...